अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इसराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच इरानमाथि पुनः ठूलो सैन्य कारबाही गर्ने सम्भावनाबारे छलफल भएको छ।
एक साता यता ट्रम्प र नेतन्याहूबीच धेरै पटक टेलिफोन संवाद भएको र संवादका क्रममा इरानमाथि पुनः ठूलो सैन्य कारबाही तत्काल गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भएको त्यसबारे जानकार अधिकारीहरूलाई उद्धृत गरेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।
तत्काल हमला गर्ने विषयमा दुई नेता दुविधामा रहेको ती अधिकारीहरूले बताएका छन्। उनीहरू दुविधामा पर्नुका पछाडि दुई कारण छन्।
एक्सियसका अनुसार इरानले पुनः आणविक कार्यक्रमहरू सञ्चालन गरिरहेको भन्ने इसराइली खुफिया एजेन्सीको रिपोर्ट छ। ट्रम्पसँगको कुराकानीमा नेतन्याहूले यसबारे चिन्ता व्यक्त गरेका थिए।
इरानको आणविक कार्यक्रम ध्वस्त पार्न तत्कालै ठूलो हमला आवश्यक भएको भनेर नेतन्याहूले ट्रम्पलाई भनेका छन्।
नेतन्याहू त्यो हमला अमेरिका र इसराइलको संयुक्त हमला होस् भन्ने चाहन्छन्।
तर दुवै देशमा चाँडै नै चुनाव हुँदैछ।
इसराइलमा दुई सातापछि नै चुनाव छ। अमरिकामा आगामी नोभेम्बर महिनामा मध्यावधि निर्वाचन हुँदैछ। चुनावको मुखमा इरानसँग पुनः युद्ध चर्किए दुवै देशको आन्तरिक राजनीतिमा असर पर्ने आकलन छ।
त्यसकारण ट्रम्पले चुनावअघि इरानमा हमला नगर्ने भनेर सार्वजनिक अभिव्यक्ति दिइसकेका छन्।
त्यसपछि पनि ट्रम्प र नेतन्याहूबीच लगातार टेलिफोन वार्ता भइरहेको र यसबारे छलफल हुने गरेको इसराइली अधिकारीहरू बताउँछन्।
‘नेतान्याहु फेरि आक्रमण गर्न चाहेजस्तो देखिन्छन्। उनले राष्ट्रपतिसँग यसबारे केही पटक कुरा पनि गरेका छन्। राष्ट्रपति ट्रम्पले तयारी गर्न भनेका छन्। तर त्यसको अर्थ अहिले नै हो कि पछि वा कहिले हुने भन्ने यकिन छैन,' एक अधिकारीले एक्सियससँग भनेका छन्।
ट्रम्प सुरूमा इरानमा हमला गर्ने विषयमा सकारात्मक नै थिए। तर पछि उनी यस विषयमा हिचकिचाउन थालेका थिए।
अमेरिकी रक्षामन्त्री पिट हेगसेथ र अमेरिकी केन्द्रीय कमान्डका नेतृत्व इरानमाथि पुनः आक्रमण गर्ने पक्षमा छन्। उनीहरू ट्रम्पको निर्देशन कुरेर बसेको यसअघि नै सार्वजनिक भएको थियो। तर ट्रम्पका अधिकांश सल्लाहकार भने अहिले आर्थिक प्रतिबन्ध र अन्य दबाबका उपायलाई निरन्तरता दिनुपर्ने पक्षमा छन्।
चुनावमा पर्न सक्ने प्रभाव
इरानमाथि पुनः आक्रमण भए त्यसको असर इसराइल र अमेरिकाको निर्वाचनमा समेत पर्न सक्ने देखिएको छ। इसराइलले आक्रमण गरेमा इरानले जबाफी कारबाहीस्वरूप सयौं ब्यालिस्टिक मिसाइल प्रहार गर्न सक्ने आकलन छ।
इसराइली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामिरले गत साता अमेरिकी संयुक्त सैन्य प्रमुख समितिका अध्यक्ष जनरल ड्यान केनसँग यस विषयमा छलफल गरेका थिए।
छलफलमा आगामी तीन साताभित्र इरानसँग पूर्णस्तरको युद्ध पुनः सुरु गर्ने सम्भावनाबारे कुरा भएको स्रोतलाई उद्धृत गर्दै एक्सिओसले जनाएको छ।
इरानसँग पुनः युद्ध सुरु भए त्यसको जबाफमा हुने आक्रमणका कारण इसराइलको निर्वाचन नै स्थगित हुन सक्ने चिन्ता जामिरले व्यक्त गरेको स्रोतहरूले बताएका छन्।
निर्वाचनअघि आक्रमण भए नेतन्याहुले राजनीतिक लाभ लिन खोजेको रूपमा बुझिन सक्ने र त्यसले राजनीतिक रूपमा तटस्थ मानिने सेना प्रतिको जनविश्वास कमजोर पार्न सक्ने चिन्तासमेत रहेको बताइएको छ।
अमेरिकी अधिकारीहरूका अनुसार नेतन्याहुका लागि युद्धकालीन प्रधानमन्त्रीको छवि चुनावमा महत्त्वपूर्ण हुन सक्छ।
तर अमेरिकी निर्वाचनअघि इरानमाथि आक्रमण गर्दा ट्रम्पलाई पनि राजनीतिक असर पर्न सक्छ। इरान युद्धको विपक्षी आवाज अझै मजबुत हुने र युद्धका कारण तेलको मूल्य बढेर अमेरिकी उपभोक्तालाई थप आर्थिक भार पर्न सक्ने चिन्ता ट्रम्पलाई छ।
वार्ताको सम्भावना अझै कायम
इरानसँगको युद्ध अन्त्य गर्ने विषयमा कूटनीतिक प्रयास पनि जारी छ।
कतारका मध्यस्थकर्ताहरूले आणविक कार्यक्रमसम्बन्धी सहुलियतसहितका अमेरिकी प्रस्तावबारे इरानको जवाफ पर्खिरहेका छन्।
एक अमेरिकी अधिकारीका अनुसार वार्ता पूर्ण रूपमा टुटेको छैन, तर सक्रिय रूपमा अघि पनि बढिरहेको छैन। उनका अनुसार अमेरिकाले इरानमाथि दबाब कायम राखिरहेको छ र अन्ततः वार्ताबाट समाधान निस्कने अपेक्षा गरेको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै इरानलाई ‘असफल राष्ट्र’ भनेका थिए। उनले इरानबारे चाँडै निर्णय लिने पनि बताएका छन्।