नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्य पदमा निर्वाचित हुन पर्याप्त मत प्राप्त गरेकी उम्मेदवार विनिता खड्काको नतिजा पार्टी केन्द्रीय निर्वाचन समितिले हाललाई ‘होल्ड’मा राख्ने निर्णय गरेको छ।
खड्काविरूद्ध अदालतमा मुद्दा विचाराधीन रहेकाले मतपरिणाममा निर्वाचित हुने अवस्थामा रहे पनि उनलाई औपचारिक रूपमा निर्वाचित घोषणा नगरिएको निर्वाचन समितिले जनाएको छ।
कानुनी प्रक्रियाको टुंगो नलागेसम्म नतिजा होल्डमा राख्न पार्टीका पदाधिकारीले आग्रह गरेपछि समितिले यस्तो निर्णय गरेको हो।
महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित हुनुपर्नेमा खड्काको नतिजा रोकिएपछि हाललाई १४ जनालाई मात्र निर्वाचित घोषणा गरिएको हो।
प्राप्त मतपरिणामअनुसार खड्काले २ हजार ८६६ मत प्राप्त गरेकी थिइन्, जुन निर्वाचित हुन पर्याप्त मत हो।
महिला खुलातर्फका १५ पदका लागि ३६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए।
खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको थियो।
गत सोमबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले खड्कालाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको हो।
केन्द्रीय अनुसन्धान ब्युरोले असोज २३ गते इसराइलको केयरगिभरको रूपमा पठाउने भन्दै ठगी भएको घटनामा खड्कालाई पक्राउ गरेको थियो। त्यस कसुरमा म्याद थप गर्न अदालतमा पेस गर्दा म्याद नदिएको हो।
उनीमाथि ठगी, आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा अनुसन्धान अघि बढाएको थियो।
प्रहरीले यही प्रकरणमा यसअघि भरत चौलागाईंसहित चार जनालाई पक्राउ गरेको थियो। रामेछापका जिल्ला नेता चौलागाईं पहिले कांग्रेस महाधिवेशन प्रतिनिधि पनि थिए।
चौलागाईंसहितले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग चिनजान रहेको भन्दै १५६ जनाबाट दुई करोड ५० लाख रूपैयाँभन्दा बढी ठगी गरेको आरोपमा जाहेरी परेको थियो।
नेपाल सरकार र इसराइल सरकारबीच जिटुजी प्रक्रियाअन्तर्गत केयरगिभरका लागि सन् २०२४ मा परीक्षा भएको थियो। त्यसमा तीन हजार ४६१ जना परीक्षार्थी उत्तीर्ण भएका थिए। उनीहरू होल्डमा थिए।
त्यसमध्ये १५६ जनालाई मन्त्रिपरिषदबाटै निर्णय गराएर इसराइल पठाइदिने झुटो आश्वासन दिई उनीहरूले पैसा उठाएको आरोप छ।