एक सय चार वर्ष लामो राणा शासन अन्त्य गर्न नेपाली कांग्रेसले २००७ सालको क्रान्ति गरेको थियो।
तर इतिहासको रोचक संयोग — त्यही राणा परिवारका केही सदस्य आफ्नै वंशको शासनविरूद्ध कांग्रेससँगै उभिएका थिए।
सुवर्णशमशेरले आफ्नै परिवारको शासन ढाल्ने क्रान्तिमा श्रीसम्पत्ति लगाए।
भरतशमशेरले कांग्रेसविरूद्ध प्रमुख प्रतिपक्षी दलको नेतृत्व गरे, तर राजा महेन्द्रले प्रजातन्त्र खोसेपछि त्यही कांग्रेसको बाटो रोजे।
राणा शासन इतिहास बन्यो। पञ्चायत पनि ढल्यो। कांग्रेसले अनेक राजनीतिक उतारचढाव बेहोर्यो।
अहिले त्यही राणा परिवारका अर्का सदस्य कांग्रेसका महामन्त्री बनेका छन् — उदयशमशेर राणा।
उनी न सुवर्णशमशेरका प्रत्यक्ष वंशज हुन्, न भरतशमशेरका छोरा। तर दुवैसँग जोडिएको पारिवारिक इतिहास बोकेर उनी कांग्रेसको शीर्ष नेतृत्वमा पुगेका छन्।
आफूलाई सुवर्णशमशेरपछि कांग्रेसको शीर्ष पदाधिकारी बन्ने राणा परिवारको पहिलो सदस्य बताउने उदयशमशेरसँग सेतोपाटीले कुराकानी गर्दा उनी आफ्नो वंशको इतिहासप्रति गर्व गरिरहेका थिए।
'म राणा हुँ भनेर लुकाएर हिँड्नुपर्ने केही छैन। आई एम प्राउड टू बी अ राणा,' उनले भने।
आखिर आफ्नै पुर्खाको शासन अन्त्य गर्ने इतिहास बोकेको पार्टीमा राणा वंशको प्रतिनिधि हुनु उनको राजनीतिक पहिचानको विरोधाभास हो कि गौरव?
यसको जबाफ उदयशमशेर आफ्नो परिवारको राजनीतिक इतिहासमै खोज्छन्।
उनका लागि राणा परिवारको परिचय केवल १०४ वर्षको शासनसँग जोडिएको छैन। त्यही शासनविरूद्ध विद्रोह गर्ने, पञ्चायतविरूद्ध कांग्रेस रोज्ने र त्यसबापत निर्वासनदेखि श्रीसम्पत्ति गुमाउनेसम्मको मूल्य चुकाउने इतिहाससँग पनि जोडिएको छ।
यही पारिवारिक पृष्ठभूमिबाट आएका उदयशमशेर कांग्रेसको १५औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका छन्।
खुलातर्फ महामन्त्रीमा प्रदीप पौडेलसँगै निर्वाचित उदयशमशेरले आफ्ना निकट प्रतिस्पर्धी सुनिलकुमार शर्मालाई थोरै मतान्तरले पराजित गरे। महिलातर्फ डिला संग्रौला महामन्त्री निर्वाचित भइन्।
महामन्त्री बनेपछि उदयशमशेरले यो उपलब्धिलाई आफ्नो परिवारको राजनीतिक इतिहाससँग पनि जोडेका छन्।
'सुवर्णशमशेरपछि कांग्रेसको शीर्ष तहको पदाधिकारी बन्ने म पहिलो राणा हुँ भन्यो भने गल्ती हुँदैन,' उनले सेतोपाटीसँग भने।
सुवर्णशमशेर कांग्रेसका एक संस्थापक नेता थिए। उनी २०१२ साल माघमा वीरगन्जमा भएको छैठौं महाधिवेशनबाट सभापति निर्वाचित भए। त्यसपछि राणा परिवारबाट कांग्रेसको शीर्ष पदाधिकारीमा पुग्ने व्यक्ति आफू नै भएको उदयशमशेरको दाबी छ।
तर उदयशमशेरको राजनीतिक कथा सुवर्णशमशेरसँगको नातामा मात्र सीमित छैन।
उनको वंश नेपालमा राणा शासन सुरू गर्ने जंगबहादुरदेखि लामो समय शासन गरेका चन्द्रशमशेरसम्म जोडिन्छ।
जंगबहादुरका भाइको वंश, चन्द्रशमशेरका खनाति
नेपालमा राणा शासनको सुरूआत गर्ने जंगबहादुरका भाइ धीरशमशेरको वंशबाट उदयशमशेर आएका हुन्।
धीरशमशेरका छोरा थिए चन्द्रशमशेर। चन्द्रशमशेरका छोरा बबरशमशेर, बबरशमशेरका छोरा मृगेन्द्रशमशेर, मृगेन्द्रशमशेरका छोरा सागरशमशेर र सागरशमशेरका छोरा हुन् उदयशमशेर।
यस हिसाबले चन्द्रशमशेर उदयशमशेरका जिजुबाजे र बबरशमशेर बराजु हुन्। उदयशमशेर चन्द्रशमशेरका खनाति र बबरशमशेरका पनाति हुन्।
जंगबहादुरसँग उनको सम्बन्ध भने जंगबहादुरका भाइ धीरशमशेरको वंशमार्फत जोडिन्छ।
यो वंशावलीमा अर्को रोचक प्रसंग पनि छ।
उदयशमशेरका बराजु बबरशमशेर अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरका सहोदर भाइ थिए।
२००७ सालको परिवर्तनपछि बनेको राणा–कांग्रेस संयुक्त सरकारमा बबरशमशेर रक्षामन्त्री थिए। त्यही सरकारमा बिपी कोइराला गृहमन्त्री थिए।
त्यस बेला बबरशमशेर कांग्रेसप्रति कठोर दृष्टिकोण राख्ने राणा अधिकारीका रूपमा चिनिन्थे।
तर त्यही बबरशमशेरका पछिल्ला पुस्ताको राजनीतिक बाटो कांग्रेससँग जोडियो।
उनका नाति सागरशमशेर कांग्रेसको राजनीतिमा सक्रिय भए। अहिले पनाति उदयशमशेर कांग्रेसको महामन्त्री बनेका छन्।
यसरी कुनै बेला कांग्रेससँग राजनीतिक टकरावमा रहेका राणा परिवारका सदस्यका पछिल्ला सन्तान त्यही पार्टीको नेतृत्वमा पुगेका छन्।
यो परिवारको कांग्रेससँग सम्बन्ध स्थापित हुने अर्को महत्त्वपूर्ण मोड भने भरतशमशेरको राजनीतिक निर्णय थियो।
कांग्रेसका प्रमुख प्रतिपक्षीबाट कांग्रेसकै सहयात्री
२०१५ सालको पहिलो आमनिर्वाचनमा नेपाली कांग्रेसले दुईतिहाइ बहुमत ल्याएको थियो। बिपी कोइराला प्रधानमन्त्री बनेका थिए।
त्यस बेला कांग्रेसको प्रमुख प्रतिपक्षी दल थियो — गोर्खा परिषद।
त्यसका नेता थिए — भरतशमशेर राणा।
भरतशमशेर उदयशमशेरका ठूला बुबा हुन्। त्यही संसदमा उदयशमशेरका हजुरबुबा मृगेन्द्रशमशेर पनि सांसद थिए।
तर भरतशमशेरको राजनीतिक बाटो कांग्रेसभन्दा फरक थियो।
२०१७ साल पुस १ गते राजा महेन्द्रले बिपी कोइरालाको निर्वाचित सरकार अपदस्थ गरेपछि राजनीतिक परिस्थिति बदलियो।
कांग्रेस र गोर्खा परिषदबीचको संसदीय प्रतिस्पर्धा अचानक अर्थहीन भयो।
अब प्रश्न कुन दल सत्तामा जाने र कुन दल प्रतिपक्षमा बस्ने भन्ने थिएन। प्रश्न थियो — राजाको निरंकुश शासन स्वीकार गर्ने कि त्यसविरूद्ध संघर्ष गर्ने?
यही मोडमा भरतशमशेरले आफ्नो राजनीतिक बाटो बदले।
कुनै बेला कांग्रेसको प्रमुख प्रतिपक्षी दलका नेता रहेका उनी पञ्चायतविरूद्ध कांग्रेससँग उभिए।
पछि उनले गोर्खा परिषदलाई कांग्रेसमा एकीकरण गर्ने घोषणा गरे। यद्यपि गोर्खा परिषदका सबै नेताले उनको निर्णय स्वीकार गरेनन्। केही कांग्रेसमा लागे भने केही पञ्चायततिर गए।
उदयशमशेरका अनुसार भरतशमशेरको निर्णयका पछाडि एउटा स्पष्ट राजनीतिक सोच थियो।
'दुई ठाउँमा उभिएर पञ्चायतलाई चुनौती दिन सकिँदैन, एकै ठाउँमा उभिनुपर्छ भन्ने उहाँको सोच थियो,' उदयले भने।
उनका अनुसार राजा महेन्द्रले भरतशमशेरलाई मन्त्रिपरिषदमा सहभागी हुनसमेत आग्रह गरेका थिए। तर उनी आफ्नो राजनीतिक अडानबाट पछि हटेनन्।
बिपीलाई समर्थन गरेकै कारण भरतशमशेरमाथि तीन पटक हत्याको प्रयास भएको उदयशमशेर बताउँछन्।
पछि भरतशमशेर कलकत्ता पुगे। त्यहाँ सुवर्णशमशेर र सरोज कोइरालासँग उनको राजनीतिक सम्पर्क भयो।
यसरी पहिले कांग्रेसको विपक्षमा उभिएको परिवारका एक प्रभावशाली सदस्य पञ्चायतविरूद्ध त्यही कांग्रेसका सहयात्री बने।
उदयशमशेरको बुझाइमा उनको परिवार कांग्रेससँग जोडिने इतिहासमा सुवर्णशमशेरको प्रभाव पनि उत्तिकै महत्त्वपूर्ण थियो।
'सुवर्णशमशेर पनि हामी कांग्रेस प्रवेश गर्नुको एउटा कारण हुनुहुन्छ। उहाँले मेरा बुबालाई प्रत्यक्ष रूपमा प्रभावित गर्नुभएको थियो,' उनले भने।
उनका अनुसार सुवर्णशमशेर हजुरबुबाका दाजुभाइको नाता पर्ने व्यक्ति हुन्।
पञ्चायत कालमा बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायत नेताहरू जेलमा रहेका बेला सुवर्णशमशेर, भरतशमशेर र सरोज कोइरालाले पार्टीका महत्त्वपूर्ण निर्णय लिने गरेको उनी बताउँछन्।
'त्यति बेला कांग्रेसका निर्णय सुवर्णशमशेर, भरतशमशेर र सरोज कोइरालाले लिनुहुन्थ्यो भन्ने सुनिन्छ। तर त्यो कुनै औपचारिक पद होइन। औपचारिक पदमा महामन्त्री त मै हुँ,' उनले भने।
यसरी सुवर्णशमशेरसँग जोडिएको इतिहासमा उदयशमशेरले आफ्नो महामन्त्री पदको ऐतिहासिक अर्थ खोजेका छन्।
तर उनका लागि परिवारको कांग्रेससँगको सम्बन्ध केवल राजनीतिक निष्ठाको विषय होइन। त्यसका लागि परिवारले बेहोरेको मूल्यको प्रश्न पनि हो।
सत्ताको वैभवबाट निर्वासनसम्म
कुनै बेला नेपालमा शासन गर्ने राणा परिवारका सदस्यहरूले नै पछि राजनीतिक कारणले आफ्नो पुर्ख्यौली घर छाड्नुपरेको थियो।
उदयशमशेरका अनुसार उनको परिवारले पनि त्यही नियति बेहोरेको थियो।
बबरमहलमा उनीहरूको पुर्ख्यौली घर थियो। परिवार सम्पन्न राणा परिवारमध्ये पर्थ्यो।
तर पञ्चायतविरूद्ध कांग्रेसको राजनीतिमा लागेपछि परिवारका सदस्यहरू निर्वासनमा जानुपर्यो। सम्पत्तिको ठूलो हिस्सा पनि गुम्यो।
'हाम्रो घर बबरमहल थियो। पञ्चायतकालमा कांग्रेसमा लागेपछि हामीले सबै सम्पत्ति बेचेर भाग्नुपर्ने अवस्था आयो,' उनले भने।
त्यसपछि परिवारका सदस्यहरू विभिन्न ठाउँमा छरिए।
ठूला बुबा भरतशमशेर कलकत्तामा निर्वासनमा बसे। माइला बुबा जगदीशशमशेर सिमला पुगे। हजुरबुबा मृगेन्द्रशमशेर अमेरिका गए। बुबा सागरशमशेर अक्सफोर्डमा अध्ययन सकेपछि लामो समय दिल्लीमै बसे।
एक समय सत्तासँग जोडिएको परिवार राजनीतिक परिस्थितिका कारण देशबाहिर बस्नुपर्ने अवस्थामा पुगेको उदयशमशेर सम्झन्छन्।
'मृगेन्द्रशमशेर र बबरशमशेरबाहेक हाम्रो परिवारका अरू सदस्यको सम्पत्ति खोसियो। अहिले पुर्ख्यौली सम्पत्ति एक थोपा पनि बाँकी छैन,' उनले भने।
उदयशमशेरका लागि यो पारिवारिक इतिहासको एक महत्त्वपूर्ण हिस्सा हो।
उनी राणा परिवारको वैभवको मात्र चर्चा गर्दैनन्, लोकतान्त्रिक आन्दोलनको पक्षमा लाग्दा परिवारले भोगेको कठिनाइ पनि सम्झन्छन्।
यही पृष्ठभूमिमा उनलाई हामीले एउटा प्रश्न सोधेका थियौं — राणा शासनविरूद्ध संघर्ष गरेको कांग्रेसको महामन्त्री हुँदा आफ्नै परिवारको शासनबारे उनलाई के लाग्छ?
उनको जबाफमा त्यस इतिहासप्रति आलोचना र गर्व दुवै भेटिन्छन्।
राणा शासनको आलोचना पनि, उपलब्धिको चर्चा पनि
नेपालको इतिहासमा १०४ वर्षको राणा शासन निरंकुश जहानियाँ शासनका रूपमा स्थापित छ।
सत्ता एउटा परिवारमा सीमित थियो। नागरिकका राजनीतिक अधिकार कुण्ठित थिए। सर्वसाधारणको शिक्षामा पहुँच अत्यन्त सीमित थियो।
उदयशमशेर यी कमजोरी अस्वीकार गर्दैनन्।
तर राणा शासनको इतिहासलाई निरंकुशताको दृष्टिबाट मात्र हेर्न नहुने उनको तर्क छ।
'१०४ वर्षको राणा शासनमा कतिपय गल्ती भएका छन्, तर केही राम्रा काम पनि भएका छन्। यसका सकारात्मक र नकारात्मक दुवै पक्ष छन्,' उनले भने, 'राणा शासन पूर्णतः पारिवारिक शासन थियो। राणाहरूले आफ्नै स्वार्थका लागि शिक्षालाई कुण्ठित गरे। त्यसलाई पनि बिर्सन मिल्दैन।'
त्यस अवधिमा भएका केही कामलाई उनी नेपालको आधुनिक इतिहाससँग जोड्छन्।
विशेषगरी सन् १९२३ मा नेपाल र बेलायतबीच भएको सन्धिलाई उनी महत्त्वपूर्ण मान्छन्।
उक्त सन्धिले नेपालको स्वतन्त्र हैसियतलाई अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्न मद्दत गरेको उनको भनाइ छ।
त्यो सन्धि नभएको भए सन् १९४७ मा भारत स्वतन्त्र भएपछि नेपालको भविष्य फरक हुन सक्थ्यो भन्ने अनुमानसमेत उनी गर्छन्। सरदार वल्लभभाइ पटेलको नेतृत्वमा भारतले नेपाललाई आफ्नो अधीनमा ल्याउन सक्ने सम्भावना उनी औंल्याउँछन्।
यद्यपि यो उनको ऐतिहासिक अनुमान हो, स्थापित तथ्य होइन।
त्यस्तै चन्द्रशमशेरको समयमा दासप्रथा उन्मूलन भएको, जुद्धशमशेरको समयमा जुट मिल र वीरगन्जमा म्याच फ्याक्ट्रीजस्ता उद्योग स्थापना भएका तथा राणाकालमा रेलमार्ग सुरू भएको विषय पनि उनी उठाउँछन्।
त्यति बेला नेपालको प्रतिव्यक्ति आय ब्रिटिस भारतका धेरै ठाउँभन्दा उच्च रहेको उनको दाबी छ।
उदयशमशेरका अनुसार राणा शासनमा कट्टरपन्थी र उदारवादी दुवै धार थिए।
सुवर्णशमशेरजस्ता व्यक्तिहरू आफ्नै परिवारको शासनविरूद्ध उभिएपछि परिवर्तनको आन्दोलनले बल पाएको उनी बताउँछन्।
'राणा शासन कांग्रेस वा राजाले मात्रै फालेको होइन। सबभन्दा महत्त्वपूर्ण कुरा, राणाहरू आफैले विद्रोह गरेपछि यो विस्फोट भएको हो,' उनले भने, 'सुवर्णशमशेरले विद्रोह नगरेको भए राणा शासन सजिलै जाँदैनथ्यो।'
राणा शासनको अन्त्यमा आफ्नै परिवारका केही सदस्यको विद्रोहलाई महत्त्वपूर्ण मान्ने उनी त्यस इतिहासबाट भाग्नुपर्ने कारण देख्दैनन्।
बरू आफ्नो परिवारमा शिक्षा र लोकतान्त्रिक चेतनालाई महत्त्व दिने परम्परा रहेको बताउँछन्।
उनका हजुरबुबा मृगेन्द्रशमशेरले कलकत्ता विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर गरेका थिए।
उदयशमशेरका अनुसार, नेपालमा बसोबास गर्ने पहिलो स्नातकोत्तर व्यक्तिसमेत मृगेन्द्रशमशेर थिए। मृगेन्द्रशमशेर १८ वर्षका हुँदा उनका हजुरबुबा चन्द्रशमशेरले तिमीलाई के चाहिन्छ भनेर सोधेका थिए। त्यस बेला उनले पढ्न पाउनुपर्ने माग गरेका थिए।
उनका बुबा सागरशमशेरले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका थिए। उनी कांग्रेसका केन्द्रीय सदस्य तथा इतिहाससम्बन्धी पुस्तकका लेखक हुन्। माइला बुबा जगदीशशमशेर पनि लेखक तथा पूर्वसांसद थिए।
यही शैक्षिक र राजनीतिक पृष्ठभूमिबाट आएका उदयशमशेरको सक्रिय राजनीतिक यात्रा भने नेपालबाट सुरू भएन।
दिल्लीमा नेविसंघदेखि कांग्रेस महामन्त्रीसम्म
उदयशमशेरले दिल्ली विश्वविद्यालयअन्तर्गत सेन्ट स्टेफन्स कलेजबाट स्नातक गरे। त्यसपछि अमेरिकाको कोर्नेल विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरे।
तर आफ्नो व्यक्तित्व निर्माणमा कोर्नेलभन्दा सेन्ट स्टेफन्सको प्रभाव बढी रहेको उनी बताउँछन्।
'तपाईं स्टेफन्स प्रोडक्ट हो कि कोर्नेल प्रोडक्ट भनेर सोध्दा म भन्छु, आई एम मोर स्टेफन्स,' उनले भने।
उनको राजनीतिक यात्राको सुरूआत पनि त्यही विश्वविद्यालयमा अध्ययन गर्दाको समयसँग जोडिएको छ।
सन् १९९१ देखि १९९४ को अवधिमा उनी दिल्ली विश्वविद्यालयमा नेपाल विद्यार्थी संघको संस्थापक अध्यक्ष बनेका थिए।
त्यसपछि अन्तर्राष्ट्रिय समाजवादी युवा संगठनहरूमा सक्रिय भए। सोसलिस्ट इन्टरनेसनलसँग आबद्ध इन्टरनेसनल युनियन अफ सोसलिस्ट युथको उपाध्यक्षसमेत बने।
नेपाल फर्केपछि उनको राजनीतिक यात्रा तरूण दल हुँदै अघि बढ्यो।
ललितपुर जिल्ला अध्यक्षबाट सुरू गरेर संगठनका विभिन्न जिम्मेवारी सम्हाले। महामन्त्री र उपाध्यक्ष हुँदै तरूण दलको केन्द्रीय अध्यक्ष बने।
संगठनमा अघि बढे पनि संसदीय राजनीतिमा भने उनले जित र हार दुवै बेहोरे।
२०६४ सालको संविधानसभा निर्वाचनमा पराजित भए। २०७० सालमा जिते। २०७४ मा हारे। २०७९ सालमा निर्वाचित भए। २०८२ मा फेरि हारे।
यी सबै निर्वाचनमा उनको क्षेत्र एउटै रह्यो — ललितपुर क्षेत्र नम्बर १।
यसबीच उनी अर्थ राज्यमन्त्रीसमेत बने।
कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका उदयशमशेर लामो समय शेरबहादुर देउवानिकट नेताका रूपमा चिनिन्थे। तर पछि विशेष महाधिवेशनको पक्षमा उभिए।
विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका उनी अहिले १५औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका छन्।
यसरी दिल्लीमा विद्यार्थी संगठनबाट सुरू भएको राजनीतिक यात्राले उनलाई कांग्रेसको कार्यकारी नेतृत्वसम्म पुर्याएको छ।
त्यसो त राणा परिवारका सबै सदस्यले एउटै राजनीतिक बाटो रोजेका छैनन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशमशेर राणा उदयशमशेरका नातेदार हुन्। महामन्त्री निर्वाचित भएपछि पशुपतिशमशेरले उनलाई फोन गरेर बधाई दिएको उनी बताउँछन्।
राजनीतिक दल फरक भए पनि पारिवारिक सम्बन्धमा कुनै समस्या नरहेको उनको भनाइ छ।
'हामी छुट्टाछुट्टै पार्टीमा छौं, तर हाम्रो पारिवारिक सम्बन्धमा कुनै समस्या छैन। उहाँ पनि लोकतन्त्रमा विश्वास गर्नुहुन्छ,' उनले भने।
पारिवारिक इतिहास, शैक्षिक पृष्ठभूमि, संगठनको नेतृत्व र संसदीय राजनीतिका उतारचढाव पार गरेर कांग्रेस महामन्त्री बनेका उदयशमशेरको अगाडिका चुनौती पुर्खाको विरासतसँग मात्र सम्बन्धित छैन।
त्यो वर्तमान कांग्रेसको अवस्थासँग जोडिएको छ।
पुर्खाको विरासत, आफ्नै नेतृत्वको परीक्षा
सुवर्णशमशेरले राणा शासनविरूद्ध संघर्ष गरेका थिए। भरतशमशेरले पञ्चायतविरूद्ध कांग्रेससँग हात मिलाएका थिए।
उदयशमशेरले भने न राणा शासनविरूद्ध लड्नुपरेको छ, न पञ्चायतविरूद्ध।
तर उनले नेतृत्वमा स्थान पाएको कांग्रेस आफै अनेक चुनौतीसँग जुधिरहेको छ।
विशेष महाधिवेशनपछिको विभाजन, पार्टीको वैचारिक दिशा र जनतासँग कमजोर हुँदै गएको सम्बन्ध उनका सामु छन्।
महामन्त्रीका रूपमा आफ्नो पहिलो प्राथमिकता पार्टीलाई एकताबद्ध बनाउनु रहेको उनी बताउँछन्।
'मेरो पहिलो प्राथमिकता विशेष अधिवेशन र त्यसको विपक्षी भनिएको कुरालाई मेटाएर कांग्रेसलाई एकताबद्ध बनाएर अगाडि लैजाने हो,' उनले भने।
दोस्रो प्राथमिकता कांग्रेसको वैचारिक दिशा स्पष्ट पार्नु हो।
बिपी कोइरालाले अघि सारेको समाजवादलाई आजको विश्व अर्थतन्त्र र नेपालको आर्थिक परिस्थिति अनुसार पुनर्व्याख्या गर्नुपर्ने उनी बताउँछन्।
'हामी लोकतान्त्रिक समाजवादतिर बढी ढल्केर आफ्नो स्पष्ट धारणा ल्याउँछौं। निजी क्षेत्रलाई अगाडि बढाउने, खुला बजार स्वीकार गर्ने र कल्याणकारी अर्थतन्त्रलाई पनि प्राथमिकता दिने हाम्रो प्रयास हुनेछ,' उनले भने।
तर तेस्रो प्राथमिकताको कुरा गर्दा उदयशमशेर कांग्रेसकै एउटा कमजोरी स्वीकार गर्छन्।
त्यो हो — पार्टी जनताबाट टाढिँदै गएको अवस्था।
उनका अनुसार २०६२–६३ सालको जनआन्दोलनपछि कांग्रेस जनतामाझभन्दा सत्ता सञ्चालन र राजनीतिक समीकरणमा बढी केन्द्रित हुन थाल्यो।
'हामी ड्रइङ रूम पोलिटिक्स बढी गर्न थाल्यौं। कहिले एमालेसँग मिल्ने, कहिले माओवादीसँग मिल्ने,' उनले भने, 'एक किसिमले जनतासँग बिस्तारै सम्बन्ध टुट्दै गयो। अब त्यो क्रम तोडेर हामी जनतामाझ पुग्नुछ।'
गत वर्ष भदौ २३ र २४ गतेका घटनापछि पार्टी नेतृत्वले जनताको निराशा र आक्रोशको गहिराइ बुझ्न नसकेको महसुस भएको उनी बताउँछन्।
उनी यो कमजोरीका लागि पुराना नेताहरूलाई मात्र जिम्मेवार ठहर्याउँदैनन्।
आफू, गगन थापा र विश्वप्रकाश शर्माजस्ता नेताहरूले समेत जनताको असन्तुष्टि पर्याप्त रूपमा बुझ्न नसकेको स्वीकार गर्छन्।
'जनतामा यो हदसम्म निराशा र आक्रोश छ भन्ने हामीलाई थाहा थिएन,' उनले भने, 'हामी जनताबाट टाढा भइसकेका रहेछौं। तल्लो तहमा प्रत्यक्ष सम्पर्क नभएको देखियो।'
नेतृत्वको पुस्ता फेरिँदैमा जनतासँगको सम्बन्ध स्वतः फेरिँदैन। त्यसका लागि पार्टीले काम गर्ने तरिका पनि बदल्नुपर्ने उदयशमशेरको बुझाइ छ।
त्यसैका लागि कांग्रेसले प्रत्येक शुक्रबार 'ग्रिन टेबल' कार्यक्रम सञ्चालन गरेको उनी बताउँछन्। त्यसमा राजनीतिक व्यक्तिभन्दा बाहिरका मानिसलाई आफ्ना कुरा राख्न प्राथमिकता दिइन्छ।
त्यस्तै 'जरा अभियान' मार्फत सहरमा मात्र सीमित नभई गाउँ र वडासम्म पुग्ने योजना रहेको उनले बताए।
'हामी वडा–वडा र गाउँ–गाउँका कार्यकर्ता तथा जनताकहाँ पुग्छौं,' उनले भने, 'कांग्रेसलाई एकताबद्ध बनाउने, विचारमा स्पष्टता ल्याउने र जनतासँगको प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने यी तीन प्राथमिकता महामन्त्रीका रूपमा मेरो मुख्य काम हुनेछन्।'
उदयशमशेरका यी तीन प्राथमिकता कांग्रेसका लागि अपरिचित विषय होइनन्।
पार्टीलाई एकताबद्ध बनाउने, समाजवादलाई समयानुकूल व्याख्या गर्ने र जनतासँग सम्बन्ध सुधार्ने प्रतिबद्धता कांग्रेसका नेताहरूले यसअघि पनि गर्दै आएका छन्।
प्रश्न अब ती प्रतिबद्धता कसरी कार्यान्वयन हुन्छन् भन्ने हो।
त्यसको जिम्मेवारी अहिले उदयशमशेरले पनि पाएका छन्।
उनका पुर्खाहरूले आफ्नो समयका राजनीतिक चुनौती सामना गरेका थिए।
सुवर्णशमशेरका सामु आफ्नै परिवारको शासनविरूद्ध उभिने चुनौती थियो।
भरतशमशेरका सामु राजाले खोसेको प्रजातन्त्र फर्काउन आफ्नै पुरानो राजनीतिक प्रतिस्पर्धी कांग्रेससँग हात मिलाउने चुनौती आयो।
अब उदयशमशेरका सामु न राणा शासन छ, न पञ्चायत।
उनका सामु छ, आफ्नै पार्टीभित्रको विभाजन र जनतासँग कमजोर हुँदै गएको सम्बन्ध।
उनका पुर्खाले व्यवस्थाविरूद्ध संघर्ष गरे। उनी भने त्यही संघर्षबाट स्थापित लोकतान्त्रिक व्यवस्थाभित्र कांग्रेसको भविष्यका लागि काम गर्नुपर्ने ठाउँमा पुगेका छन्।
सुवर्णशमशेरसँग जोडिएको इतिहासले उदयशमशेरलाई एउटा राजनीतिक विरासत दिएको छ। तर त्यो विरासतमा आफ्नो नाम कसरी लेखाउने भन्ने जिम्मेवारी अब उनकै हो।
***