मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको सुनुवाइ होल्ड भएको छ।
बुधबार बसेको संसदीय सुनुवाइ समितिमा उनले कार्ययोजनासमेत पेस गरिसकेका थिए।
उनले मलेसियालाई केन्द्र बनाएर थप चार देशको गैरआवासीय कूटनीतिक जिम्मेवारी निर्वाह गर्दै श्रमिकका समस्यालाई तत्काल सम्बोधन गर्ने संयन्त्र निर्माण गर्ने बताएका थिए।
तर सत्तारूढ रास्वपाका दुई जना सांसदहरूले उनीमाथि प्रश्न उठाएपछि उनको सुनुवाइ होल्ड भएको हो।
सांसद मधुकुमार चौलागाईं र राजिव खत्रीले खरेलमाथि प्रश्न उठाएका हुन्।
सुनुवाइका क्रममा खरेलमाथि ‘स्वार्थको द्वन्द्व’, आर्थिक अनियमितता, म्यानपावर व्यवसायीसँगको साँठगाँठ र योग्यतामाथि प्रश्न उठेको हो।
संसदीय समितिले प्रक्रियालाई केही समयका लागि रोकेर थप अध्ययन र प्रमाण जुटाउने निर्णय गरेको छ।
संसदीय सुनुवाइ समितिको बैठकमा प्रश्तावित राजदूत खरेलले आफूमाथि लागेका सम्पूर्ण आरोपहरू तथ्यहीन र भ्रामक रहेको दाबी गरेका थिए।
उनले जग्गा कारोबार, आर्थिक लेनदेन वा कुनै पनि प्रकारको अनुदान मिलाइदिने प्रलोभन नदेखाएको बताएका थिए।
उनले आफू व्यवस्थापकीय जिम्मेवारीमा मात्र रहेको भन्दै संस्थागत बेरूजु वा चेकको कारोबारमा आफ्नो एकल निर्णय नहुने बताएका थिए।
यस विषयमा छानबिन गर्न समितिले उपसमिति गठन गर्ने तयारीसमेत गरेको छ।
खरेलमाथि विभिन्न आरोप छन्।
मेनपावर व्यवसायी विजय मिश्रको एडभान्जर ओभरसिजबाट राजदूत भएर काम गर्छु भनेर करिब २ करोड लिएको, विजय मिश्रले उपलब्ध गराएको बा २० च ५३९ नम्बरको कालो रङको टाेएटा rav4 गाडी चढ्ने गरेको, मलेसियामा एनआरएन पूर्वअध्यक्ष दयाराम कुमालको कम्पनीको नेपाल प्रमुख एजेण्ट भइ कार्य गरेको, साथै सो कम्पनीसँग मलेसियामा कामदार लैजाने बारे सम्झौतासमेत गरेको, योगा महासंघ नेपालको महासचिव भइ कार्य गरेको संस्थाको लाखौं रुपैयाँ बेरुजु एवं घोटाला गरेको, पोखरामा सार्वजनिक वनको जग्गा मिलाइदिन्छु भनी करोडौं रुपैयाँ ठगी गरेको, तराई जनकपुर क्षेत्रमा जग्गा घोटाला काण्डमा मुछिएकोलगायत आरोप छन्।