श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाले आफू आरक्षणको विरोधी भएको बताएकी छन्।
बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले आरक्षणको आधारमा सिफारिस हुनुभएको हो? भन्ने आरोपपछि यस्तो जबाफ दिएकी हुन्।
आफू आरक्षणका आधारमा नभई योग्यताका आधारमा सिफारिस भएको बताइन्।
आफूले अर्थशास्त्र, अंग्रेजी शिक्षा, हिन्दी, राजनीति शास्त्र तथा परराष्ट्र नीति र कूटनीतिमा स्नातकोत्तर र विद्यावारिधिसम्मको अध्ययन गरेको बताइन्।
आफूले अवसरलाई आरक्षणभन्दा योग्यता र क्षमताका आधारमा प्राप्त गर्नुपर्छ भन्ने मान्यता राख्ने बताइन्।
उनले भनिन्, ‘म आफ्नो शैक्षिक योग्यता, क्षमता र अनुभवप्रति विश्वस्त छु। अर्थशास्त्र, अंग्रेजी शिक्षा, हिन्दी, राजनीतिशास्त्र तथा परराष्ट्र नीति र कूटनीतिमा स्नातकोत्तर र विद्यावारिधिसम्मको अध्ययन गरेकी छु। साथै, सार्वजनिक विषयमा लेखन र विश्लेषणमार्फत पनि योगदान दिँदै आएकी छु। म अवसरलाई आरक्षणभन्दा योग्यता र क्षमताका आधारमा प्राप्त गर्नुपर्छ भन्ने मान्यता राख्छु। त्यसैले, आफ्नो नियुक्तिलाई पनि योग्यता र क्षमताको आधारमा मूल्याङ्कन गरियोस् भन्ने चाहन्छु। कूटनीतिक क्षेत्रमा प्रत्यक्ष अनुभवको कमी रहेको कुरा म स्वीकार गर्छु। तर सैद्धान्तिक ज्ञानलाई व्यावहारिक अनुभवसँग जोड्दै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्छु भन्नेमा विश्वस्त छु। सकारात्मक सोच, सिक्ने इच्छाशक्ति र दृढ प्रतिबद्धताका साथ नेपाल र श्रीलंकाबीचको सम्बन्ध सुदृढ बनाउन सक्ने विश्वास व्यक्त गर्दछु।’
उनले कूटनीतिक क्षेत्रमा प्रत्यक्ष अनुभवको कमी रहेको बताइन्।
सैद्धान्तिक ज्ञानलाई व्यावहारिक अनुभवसँग जोड्दै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नसक्नेमा विश्वस्त रहेको बताइन्। –न्युज एजेन्सी नेपाल