सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाईंले श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाको कार्यक्षमतामाथि प्रश्न उठाएका छन्।
संसदीय सुनुवाइका क्रममा चौलागाईंले उनको कूटनीतिक अनुभव विगतको कार्यसम्पादन र प्रस्तावित नियुक्तिमाथि प्रश्न उठाएका हुन्।
सांसद चौलागाईंले डा. झाको प्राज्ञिक पृष्ठभूमि र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यकाललाई लिएर असन्तुष्टि व्यक्त गर्दै कूटनीतिक क्षमतामाथि प्रश्न खडा गरे।
सांसद चौलागाईंले प्रस्तावित राजदूत झाको बुद्ध सर्किट र नेपाल–श्रीलंकाबीचको कूटनीतिक सम्बन्ध विस्तारको योजनाबारे स्पष्ट जबाफ माग गरे।
उनले डा. झाको कार्यक्षेत्र मिथिला संस्कृतिमा मात्रै सीमित रहेको भन्दै समग्र बुद्ध कला र नेपालका अन्य महत्वपूर्ण धार्मिक क्षेत्रहरूलाई समेट्न नसकेको आरोप लगाए।
सांसद चौलागाईंले कूटनीतिक अनुभवको अभावलाई मुख्य चुनौतीका रूपमा औंल्याउँदै भारत र चीनको प्रभाव रहेको श्रीलंका जस्तो संवेदनशील मुलुकमा उनले कसरी राष्ट्रिय हित रक्षा गर्न सक्छिन् भनी जिज्ञासा राखे।
उनले राजदूत नियुक्ति सम्बन्धी निर्देशिकाको मापदण्ड र समावेशिताको नाममा गरिएका नियुक्तिको औचित्यमाथि समेत प्रश्न गरे।
यसका साथै, सन् २०१५ देखि २०१९ सम्म सत्य निरूपण तथा मेलमिलाप आयोगमा रहँदा उनले द्वन्द्व पीडितहरूलाई न्याय दिन नसकेको र मुद्दाहरू अलपत्र पारेको भन्दै सांसद चौलागाईंले उनको कार्यसम्पादनमाथि टिप्पणी गरे।
उनले भने, ‘विगतमा द्वन्द्व व्यवस्थापनमा असफल देखिएको व्यक्तिले संवेदनशील संवैधानिक वा कूटनीतिक निकायमा कसरी अपेक्षित परिणाम दिन सक्छ?’
सार्क र बिमस्टेकको मञ्च प्रयोग गरेर क्षेत्रीय हित प्रवर्द्धन गर्ने तथा लुम्बिनी–श्रीलंकाबीचको धार्मिक पर्यटन र हवाई उडानलाई अगाडि बढाउने ठोस कार्ययोजना पेस गर्न सांसद चौलागाईंले डा. झालाई चुनौती दिए। –न्युज एजेन्सी नेपाल