रूसले युक्रेनमा रहेका अमेरिकी कम्पनीका कारखाना र गोदामलाई लक्ष्य गर्दै मिसाइल र ड्रोन प्रहार गरिरहेको छ।
कोकाकोलाको कारखानादेखि म्याकडोनाल्ड्सको सामान राख्ने गोदामसम्म रूसी आक्रमणबाट क्षतिग्रस्त भएका छन्।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनले यी आक्रमणबारे सार्वजनिक रूपमा खासै प्रतिक्रिया दिएको छैन।
युक्रेनमा अमेरिकी कम्पनीका संरचनामाथि पछिल्ला महिनामा आक्रमण बढेको भनेर अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।
युक्रेनस्थित अमेरिकी चेम्बर अफ कमर्सका अध्यक्ष एन्डी हन्डरका अनुसार, कोकाकोला, पेप्सी, म्याकडोनाल्ड्स र ओरियोसँग सम्बन्धित संरचनाहरू रूसी आक्रमणबाट प्रभावित भएका छन्।
‘ड्रोन र मिसाइलबाट सिधै प्रहार भइरहेको छ। उनीहरूले लगातार आक्रमण गरिरहेका छन्। यसले अमेरिकी व्यवसायलाई नै निशाना बनाइएको सन्देश दिन्छ,’ हन्डरले सिएनएनसँग भने, ‘तर ह्वाइट हाउसबाट कुनै प्रतिक्रिया आएको हामीले देखेका छैनौं।’
उनले अमेरिकी लगानी, पुँजी र व्यवसायमाथि आक्रमण भइरहेको भन्दै यसलाई रोक्नुपर्ने बताए।
उनका अनुसार, यसअघि पनि रूसले युक्रेनमा अमेरिकी व्यवसायलाई अवरोध पुर्याउने प्रयास गरेको थियो। तर पछिल्ला महिनामा जस्तो अवस्था पहिले नदेखिएको उनको भनाइ छ।
गत सेप्टेम्बर ३ मा किभनजिकै रहेको कोकाकोलाको कारखानामा रूसले ड्रोन हमला गरेको थियो। त्यसपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई अमेरिकाका लागि स्पष्ट सन्देश भएको बताएका थिए।
‘आज रूसीहरूले ड्रोनबाट कोकाकोलाको कारखानामा प्रहार गरे। कोकाकोला उनीहरूका लागि यति ठूलो शत्रु बनेछ कि उनीहरू त्यसलाई आफ्ना शाहेद ड्रोनबाट जलाइरहेका छन्,’ जेलेन्स्कीले राति प्रसारित भिडियो सन्देशमा भनेका थिए।
त्यो आक्रमण रूसले अमेरिकालाई दिएको ठाडो चुनौती रहेको पनि जेलेन्स्कीले बताएका छन्। 'त्यो अमेरिकी कम्पनी हो भन्ने कुरा रूसीहरूलाई थाहा नहुने सम्भव छैन,’ उनले भने।
सेप्टेम्बर २५ मा किभ क्षेत्रमा म्याकडोनाल्ड्सका लागि प्रयोग हुने एउटा गोदाममा पनि रूसी ड्रोनले प्रहार गर्यो। म्याकडोनाल्ड्स युक्रेनले आफ्नो एक आपूर्ति साझेदारले सञ्चालन गरेको गोदाम आक्रमणमा क्षतिग्रस्त भएको पुष्टि गरेको छ। त्यसको असर कम्पनीका रेस्टुरेन्टमा परेको छ। अहिले कतिपय रेस्टुरेन्टले सीमित परिकार मात्रै उपलब्ध गराइरहेका छन्।
त्यसैगरी, पेप्सिकोले अगस्टको अन्त्यमा दक्षिणी युक्रेनको माइकोलाइभ क्षेत्रमा रहेको आफ्नो उत्पादन केन्द्र क्षतिग्रस्त भएको सिएनएनले जनाएको छ। उक्त घटनामा कोही पनि हताहत नभएको कम्पनीको भनाइ छ।
युक्रेनमा अमेरिकी कम्पनीका संरचनामाथि आक्रमण भए पनि सबै कम्पनी यसबारे सार्वजनिक रूपमा बोल्न इच्छुक छैनन्।
अमेरिकी विदेश मन्त्रालयका पूर्ववरिष्ठ अधिकारीका अनुसार, कतिपय कम्पनीले आफूलाई पटकपटक निशाना बनाइएको विषय सार्वजनिक गर्न नचाहेको भनेर सिएनएनले लेखेको छ।
हन्डरले पनि केही कम्पनीले अमेरिकी सरकारको ध्यानाकर्षण गराउन चाहेको, तर अरूले भने सावधानी अपनाइरहेको बताए।
अमेरिकी सांसदहरूमध्ये केही डेमोक्र्याटहरूले भने ह्वाइट हाउसले अमेरिकी कम्पनीमाथिका आक्रमणबारे रूसलाई जबाफदेही बनाउनुपर्ने माग गरेका छन्। युक्रेनले पनि आफ्ना क्षेत्रमा रहेका अमेरिकी कम्पनीको सुरक्षा गर्न थप प्रतिरक्षा सहयोग आवश्यक रहेको बताउँदै आएको छ।
हन्डरका अनुसार, अमेरिकी चेम्बर अफ कमर्सले युक्रेन भ्रमणमा आउने दुवै दलका अमेरिकी सांसदसँग भेटेर यस विषयलाई ह्वाइट हाउससम्म पुर्याउन आग्रह गरेको छ।
गत महिना उनले अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत स्टिभ विटकफ र उनका ज्वाइँ ज्यारेड कुश्नरसँग भेटको अनुरोध गर्दै युक्रेनमा अमेरिकी व्यवसायको अवस्थाबारे जानकारी दिन खोजेका थिए। तर त्यसको जबाफ नआएको उनले बताए।
अमेरिकी प्रशासनको मौनता अझै चित्तबुझ्दो नभएको अधिकारीहरू बताउँछन्।
ट्रम्प रुसले युक्रेनमा रहेको अमेरिकी कम्पनीका संरचना हमला विषयमा नबोलेर युक्रेनले रूसका ऊर्जा पूर्वाधारमाथि गरिरहेको आक्रमणमा आपत्ति जनाएका थिए। यसैलाई दिएर उनले बारम्बार जेलेन्स्कीको आलोचना पनि गरेका छन्।
पछिल्लो समय त उनले युक्रेनमा राष्ट्रपति नै फेर्ने बेला भएको बताएका छन्।
युक्रेनले रूसको तेल पूर्वाधारमा आक्रमण गर्दा अमेरिकी उपभोक्तालाई असर गर्ने र कजाकस्तानमा रहेका अमेरिकी लगानीमा समेत प्रभाव पर्ने तर्क ट्रम्प प्रशासनले गरेको थियो।
युक्रेनले गरेको आक्रमणका कारण रूसमा डिजेल आपूर्तिमा असर परेको र इन्धनको मूल्य बढेको आरोप पनि ट्रम्पले लगाएका छन्।
गत शुक्रबार ट्रम्पले प्रतिबन्ध खुकुलो पारेर रूसबाट डिजेल खरिद गर्ने सम्झौता घोषणा गरेका थिए।
सिएनएनका अनुसार, युक्रेनले रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नरोक्ने हो भने अमेरिकाले गुप्तचर सूचना र हतियार सहयोग सीमित गर्न सक्ने चेतावनीसमेत दिएको छ।
यसअघि अगस्ट २०२५ मा युक्रेनस्थित अमेरिकी इलेक्ट्रोनिक्स कारखानामा रूसले आक्रमण गर्दा ट्रम्पले सार्वजनिक रूपमा प्रतिक्रिया दिएका थिए। उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आफूले यसबारे असन्तुष्टि जनाएको बताएका थिए। तर पछिल्ला आक्रमणबारे भने उनले सार्वजनिक रूपमा त्यस्तै प्रतिक्रिया दिएका छैनन्।
ह्वाइट हाउसका एक अधिकारीले ट्रम्पको उद्देश्य युद्ध अन्त्य गर्नु रहेको बताएका छन्। उनका अनुसार, ट्रम्प र उनको टोली रूस–युक्रेन युद्ध अन्त्य गर्न र दुवै पक्षसँग संवाद अघि बढाउन प्रतिबद्ध छन्।
तर हन्डरले अमेरिकी कम्पनीमाथि विदेशी सेनाले आक्रमण गर्दा आफ्नै सरकारले साथ दिनुपर्ने अपेक्षा स्वाभाविक भएको बताए।
‘कुनै पनि कम्पनी वा व्यवसायले आफ्नो सुरक्षा चाहन्छ। विदेशी सेनाले अमेरिकी कम्पनीमाथि आक्रमण गरिरहेको छ भने सरकारले आफ्नो पक्षमा उभिएर त्यसविरुद्ध आवाज उठाओस् भन्ने अपेक्षा हुन्छ,’ उनले सीएनएनसँग भने।
अमेरिकी विदेश मन्त्रालयका पूर्वअधिकारीका अनुसार, वासिङ्टनमा युक्रेनबारे बोल्ने जिम्मा विटकफ र कुश्नरजस्ता सीमित व्यक्तिमा केन्द्रित भएको धारणा छ। उनीहरूबाहेक अरूले यस विषयमा बोल्न नचाहँदा अमेरिकी व्यवसायमाथिका आक्रमणले पर्याप्त ध्यान पाउन नसकेको उनको भनाइ छ।
अमेरिकी प्रशासनले आफूलाई अमेरिकी व्यवसायको पक्षमा उभिने बताउँदै आए पनि युक्रेनमा आफ्नै कम्पनीमाथि भइरहेको आक्रमणबारे मौन रहनुको कारण बुझ्न कठिन भएको हण्डर बताउँछन्।