नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पूर्वनिर्धारित कार्यतालिकाअनुसार अधिवेशनहरू गर्न सकेका छैनन्।
असोज १५ गते वडा अधिवेशन गर्ने भने पनि आज असोज २८ गतेसम्म आइपुग्दा ६३६ वडा अधिवेशन हुन सकेको छैन।
पूर्वमहामन्त्री शशांक कोइरालालाई १५ औं महाधिवेशन तयारी समिति संयोजक बनाएर जिल्ला संयोजकहरू तोक्दै अधिवेशनहरू सुरू गरिएका थिए।
सोअनुसार वडा, पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र हुँदै जिल्ला अधिवेशनसम्म देउवा पक्ष आइपुगेको छ तर कुनै पनि तहको अधिवेशन पूरा सकिएको देखिएको छैन।
१५ औं महाधिवेशन सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुईकेलका अनुसार अहिलेसम्म ६ हजार १०७ वडाहरूमा अधिवेशन सम्पन्न भइसकेको छ। मुलुकमा ६ हजार ७ सय ४३ वडा छन्।
अधिवेशन भएका वडाहरूमा देउवा पक्षले सर्वसम्मत नेतृत्व र क्षेत्रीय प्रतिनिधि चयन गरेको छ। कतिपय ठाउँमा वडा कार्यसमिति गठन गरे पनि विधानअनुसार क्षेत्रीय प्रतिनिधिको पूरा संख्या पठाउन मुस्किल परेको नेताहरू बताउँछन्।
७५३ मध्ये देउवा पक्षले अहिलेसम्म ४८० पालिकामा अधिवेशन सकिएको जनाएको छ।
‘कोशीमा ८९, मधेसमा ५४, बागमतीमा ७०, गण्डकीमा ५०, लुम्बिनीमा ८६, कर्णालीमा ५५, सुदूरपश्चिममा ७६ पालिका अधिवेशन सम्पन्न भइसकेको छ। कोशीमा ४८, मधेसमा ८२, बागमतीमा ६४, लुम्बिनीमा २३, कर्णालीमा २४, गण्डकीमा ५०, सुदूरपश्चिममा २२ पालिका अझै अधिवेशन गर्न बाँकी छ,’ कुईकेलले भने।
साथै ३३० प्रदेश सभा क्षेत्रमध्ये अहिलेसम्म जम्मा १७० प्रदेश सभा क्षेत्रीय अधिवेशन भएका छन्।
कोशीमा ३४, मधेसमा २६, बागमतीमा ४०, गण्डकीमा १४, लुम्बिनीमा २४, कर्णालीमा १४, सुदूरपश्चिममा १८ प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको उनले जानकारी दिए।
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सुरू गरे पनि अहिलेसम्म आधा मात्रै अधिवेशन भएको देखिन्छ। १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म ८५ क्षेत्रको अधिवेशन भएको छ।
कोशीमा १७, मधेसमा १३, बागमतीमा २०, गण्डकीमा ७, लुम्बिनीमा १२, कर्णालीमा ७, सुदूरपश्चिममा ९ प्रतिनिधि सभा क्षेत्रमा अधिवेशन भइसकेको कुईकेलले जानकारी दिए।
मातहत तहका अधिवेशन पूरा नभई माथिल्ला तहका अधिवेशन गर्दै लगिएको देखिएको छ।
देउवा पक्षले जिल्ला अधिवेशन पनि सुरू गरिसकेको छ। कोशीमा १, कर्णालीमा ५ र सुदूरपश्चिममा १ गरी ७ जिल्ला अधिवेशन भएको छ भने ७० जिल्ला अधिवेशन हुन बाँकी छ।
पूर्वनिर्धारित कार्यतालिकाअनुसार देउवा पक्ष अघि बढेको हुन्थ्यो भने अहिले वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सकिएका हुन्थे। जिल्ला अधिवेशन भने तालिकाभन्दा अघि नै सुरू गरेको देखिन्छ। कार्यतालिकामा कात्तिक १५ गते जिल्ला, मंसिर ४ गते ७ वटै प्रदेश र मंसिर २१ देखि २३ गतेसम्म १५ औं केन्द्रीय महाधिवेशन हुने उल्लेख छ।
गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी नरहेको देउवा पक्षले छुट्टै महाधिवेशन गर्न लागेका हुन्।
संस्थापन पक्षले असोज १८ देखि २३ गतेसम्म १५ औं महाधिवेशन गरेर गगन थापा नेतृत्वमा कार्यसमिति निर्वाचित भइरहेका छन्।
अहिलेसम्म पनि मतगणना जारी नै छ। थापा नेतृत्वको विशेष महाधिवेशनबाट आएको कार्यसमितिले पनि बाढी पहिरोलगायत विभिन्न कारण पूर्वनिर्धारित कार्यतालिका अनुसार अधिवेशनहरू गर्न नसकेर समय थप गरेको थियो।