मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणी खरेललाई संसदीय सुनुवाइ समितिले सर्वसम्मतिले अस्वीकृत गरेको छ।
समितिका सांसदहरूलाई ह्वाट्सएपमा प्राप्त भएको उजुरी र अडिओ र भिडिओका आधारमा समितिले उनको नाम अस्वीकृत गरेको हो।
समितिले जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाको नाम भने 'होल्ड' मा राखेको छ।
समितिले उनको विषयमा थप बुझ्न कागजात मगाइएको उल्लेख गर्दै थापाको नाम होल्डमा राखेको र कागजात प्राप्त भएपछि सुनुवाइबारे निर्णय गर्ने भएको हो।
रास्वपा सांसद मधुकुमार चौलागाईंले थप बुझ्न पत्राचार गरिएको अवस्थामा पत्र आउनुअघि निर्णय गर्नु उपयुक्त नहुने बताएका थिए।
नेकपा एमालेकी सांसद पद्माकुमारी अर्यालले जिज्ञानकुमार थापा राम्रो मान्छे र बचाउनुपर्ने मान्छे भएको उल्लेख गर्दै व्यवधान नभए अगाडि बढ्नुपर्ने अन्यथा कागजात नआउँदासम्म कुर्नु उपयुक्त हुने बताएकी थिइन्।
त्यसपछि समिति सभापति बोधनारायण श्रेष्ठले जिज्ञान थापाले सरकारी कोषबाट पैसा लिए/नलिएको र पिआर त्यागेको विषयमा परराष्ट्र मन्त्रालयको पत्र कुर्न प्रस्ताव गरेका थिए। समितिले सहमति जनाएको थियो।
सांसदहरूले जिज्ञान कुमार थापाको परिवार अहिले पनि जापानमा रहेको र उनीहरूसँग पिआर भएकाले स्वास्थ्यको द्वन्द्व हुनसक्ने बताएका थिए।
समितिले अब दसैंपछि मात्र थापाको विषयमा निर्णय गर्नेछ।