नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले संसदीय सुनुवाइ समितिले राजदूतमा सिफारिस भएका दुई जनाको नाम अस्वीकृत गरेर दोस्रो पटक इतिहास बनाएको बताएका छन्।
सामाजिक सञ्जालमा लेख्दै भट्टराईले सुनुवाइ समितिको सान्दर्भिकता यसरी नै पुष्टि हुने बताएका हुन्।
‘संसदीय सुनुवाइ समितिले दोस्रो पटक इतिहास बनायो। सुनुवाइ समितिको सान्दर्भिकता यसरी नै पुष्टि गर्ने हो। खुशी लाग्यो। बधाई छ,’ उनले लेखेका छन्।
संसदीय सुनुवाइ समितिले साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम सर्वसम्मतिले अस्वीकृत गरेको थियो।
सुनारको नाम महिलामाथि हिंसा र धम्की दिएको आरोपसहित उच्च नैतिक चरित्रसम्बन्धी प्रश्न उठेपछि अस्वीकृत भएको हो। खरेलको नाम भने आर्थिक अनियमितता, म्यानपावर व्यवसायीसँगको लेनदेन र स्वार्थको द्वन्द्वसम्बन्धी आरोपका कारण अस्वीकृत भएको हो।
समितिले जापानका लागि प्रस्तावित राजदूतको नाम भने होल्डमा राखेको छ।
सरकारले राजदूत पदका लागि सिफारिस गरेका नाम अस्वीकृत भएको घटना नेपालको संसदीय इतिहासमै पहिलो हो।