नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले संसदीय सुनुवाइ समितिले राजदूत सिफारिस अस्वीकृत गरेपछि संसद् लामो समयपछि आफ्नो अधिकार प्रयोगका हिसाबले ग्रे जोनबाट बाहिर निस्किएको अनुभूति भएको बताएका छन्।
सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले एकल सरकारले गरेको सिफारिस अस्वीकार गर्न सजिलो नभएको बताएका हुन्।
‘संसद् अधिकार प्रयोगका हिसाबले लामो समयपछि वास्तवमै ग्रे जोनबाट बाहिर निस्केको अनुभूति भयो। एकल सरकारको सिफारिस तोड्न सजिलो थिएन। शायद दबाब दिएन छ कि? यो ब्रेक सराहनीय छ,’ उनले लेखेका छन्।
संसदीय सुनुवाइ समितिले साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम सर्वसम्मतिले अस्वीकृत गरेको थियो।
सुनारको नाम महिलामाथि हिंसा र धम्की दिएको आरोपसहित उच्च नैतिक चरित्रसम्बन्धी प्रश्न उठेपछि अस्वीकृत भएको हो। खरेलको नाम भने आर्थिक अनियमितता, म्यानपावर व्यवसायीसँगको लेनदेन र स्वार्थको द्वन्द्वसम्बन्धी आरोपका कारण अस्वीकृत भएको हो।
समितिले जापानका लागि प्रस्तावित राजदूतको नाम भने होल्डमा राखेको छ।
सरकारले राजदूत पदका लागि सिफारिस गरेका नाम अस्वीकृत भएको घटना नेपालको संसदीय इतिहासमै पहिलो हो।