सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठमध्ये एक मानिएको डडेल्धुराको उग्रतारा मन्दिरमा यस वर्ष मंसिर ६ गते मेला लाग्ने भएको छ।
जिल्ला सदरमुकामबाट लगभग ५ किलोमिटर दुरीमा रहेको अमरगढी नगरपालिका–८ स्थित दशरथचन्द राजमार्गको पश्चिमतर्फ अग्लो डाँडामा उग्रतारा मन्दिरमा यस वर्ष आगामी मंसिर ६ गते मेला लाग्ने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ ।
उग्रतारा मन्दिरमा लाग्ने मेलाको आवश्यक तयारी तिब्र भइरहेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेज बहादुर साँकीले जानकारी दिए। मेलामा करिब ४ सयको हाराहारीमा बिभिन्न स्टलहरु रहने उनको भनाई छ।
सुदूरपश्चिमका प्रख्यात नौ देवीमध्ये कै एक उग्रतारा भगवती मन्दिरमा कार्तिक शुक्ल पूर्णिमा अर्थात मंसिर ५ गते राति (रात्रीमेला) र ६ गते दिउँसो (दिवामेला) लाग्ने अध्यक्ष साँकीले बताए।
छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि दिउसेडी मेला सुरु हुने गर्दछ ।
खनमडा, छचोडा, दमडा, र जिलोडामा (भ्राण) भन्डार रहेको उग्रतारा मन्दिरमा यिनै ठाँउबाट देउरो पनि आँउछ। यस मन्दिरमा देउरो आउनु अघि चतुर्दशिको राति रत्यौली मनाउने, मन्दिर पुग्न अगाडी लटाउली, खनमडा, जिलोडा र दमडामा साँस्कृतिक झलकका साथ खेल र जात्रा गरि देउरो उग्रतारामा लगिनु गौरवमय परम्परा आफैंमा रोमाञ्चक छ ।
सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट र छिमेकी राष्ट्र भारतको सिमावर्ती क्षेत्रबाट पनि दर्शनार्थी मेला भर्न पुग्ने गर्छन्। स्वयम् प्रकट भगवती मानिने उग्रताराको दर्शन गरे निःसन्तानलाई सन्तान प्राप्त हुने र वर्षभरि सुखशान्ति, समृद्धि एवम् सद्बुद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास रहिआएको छ ।
उग्रतारा मेलालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न र मेलामा हुने अपराधिक क्रियाकलापको नियन्त्रणका लागि मेला अवधिभर जुवातास तथा मदिराजन्य चिजबस्तु विक्रि तथा वितरणमा रोक लगाउने निर्णय समेत गरिएको छ।
समितिले उग्रतारा मन्दिरको क्षेत्रको चार किल्ला पुर्वमा लटावली, खनमडाँ र टाटँर, पश्चिममा गुनेई गाडँ, उत्तरमा रावल तोली, दक्षिणमा डडेल्धुरा बहुमुखी क्याम्पसको छात्रबास सम्म मदिरा निषेध गर्ने निर्णय गरेको हो ।
भगवती माताको पूजा
बिहान चार बजे धार्मिक परम्परागत रुपमा स्थानीय बाजा दाइन दमाहा, रुइसिंग, विगुल, भोकर, शंख, घण्टा इत्यादी बाजागाजाका साथ चारवटै गाँउबाट माता भगवतीको डोली सहित देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवती माताको पूजा सुरु हुने पण्डित टि.आर भट्टले बताए।
‘बिहानको पूजाआजा पछि दिउँसो भगवती माताको गाँज मन्दिर लगायत सयौं एकडमा फैलिएको मैदानको विषेश चार स्थानमा बाजागाँजाका साथ घुमाइन्छ । बिहान चारवटै गाउँको भ्रणबाट ल्याइएको माता भगवतीको देउरो बेलुका ५ बजे पछि पुनः चारवटै गाउँको भम्रणमा लगिमेला सम्पन्न हुन्छ,’ पण्डित भट्टले भने।
किम्बदन्ति अनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जन विश्वास छ ।
कार्तिक पुर्णिमा लाग्ने प्रसिद्ध मेला देहीजातमा प्राचिनकालमा गर्खा, गर्खाबाट लडाकुहरुले आ–आफ्नो विरतासाथ लडाई हुँदा रगतको खोला बग्ने जसलाई यहा न्वाखोलाको रुपमा नामाकरण गरिएको छ।
स्थानीय व्यापार, आपसी भेटघाट
उग्रतारा मेला व्यापार व्यवसाय र आफन्तजनसँगको भेटघाट हुने समय मौकाको रुपमा प्रख्यात छ । मेलामा हराउँदै गएका अन्न वाली फाँपर, भिमुर, तिल लगातय अदुवा, बेसार, चुक, मह, घ्ँयु, सुन्तला, केरा लगायत स्थानीय स्तरमा उत्पादित विभिन्न चिज वस्तुसँगै मोही बनाउन प्रयोग हुने पाथन, विभिन्न साग तरकारी प्याजको बेर्नाको राम्रो व्यापार हुन्छ।
स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको विक्री तथा प्रवद्र्धनका लागि पनि मेला प्रसिद्ध छ ।
उग्रतारा मेलामा विक्रि वितरण गर्ने पूर्व योजनाका साथ स्थानीयहरुले विभिन्न बाँस निगलाका सरसामाग्री सँगै खाद्य वस्तु एवं कृषि औजार, बेर्ना तयार पार्ने गरेका छन्।
मेलामा भारतीय व्यापारीले मिठाईका परिकार बनाई विक्रि गर्ने गर्छन्। देहिजातको महत्व र रोचक जात्रा भनेको सुदूरपश्चिम प्रदेशको जनजीवन झल्किने विभिन्न दृष्यहरु, ईष्टमित्र, साथीसङ्गी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, सुदूरपश्चिमको लोकप्रिय स्थानीय खाना ‘माँडा’ देहिजाँतमा प्रशस्त देख्न सकिन्छ।
तर, भगवतीको गाथाको रुपमा गाइने डेउडा भने खेलिदँन। वर्षमा एक पटक भव्य रुपमा लाग्ने उग्रतारा माताको दर्शन गरेमा दैवी प्रकोप नहुने, सुख प्राप्ती, मनोकामना पूरा हुने जन विश्वास रही आएको छ ।