बारा प्रहरीले १५ हजार किलो सुपारी बरामद गरेको छ।
आइतबार अपराह्न इलाका प्रहरी कार्यालय निजगढको टोलीले निजगढ नगरपालिका-९ बाट ३१ लाख ३५ हजार ७५० रुपैयाँको सुपारी बरामद गरेको हो।
बिना कागजातको उक्त सुपारी लु२ख ३७ नम्बरको ट्रकमा ल्याइएको थियो। रुपन्देहीबाट बारा-पर्सा हुँदै चोरी बाटोबाट भारत निकासी गर्न लागिएको सुपारी बरामद गरिएको बारा प्रहरीले जनाएको छ।
बरामद सुपारीसहित ट्रकलाई राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ।
यस्तै, जिल्ला प्रहरी कार्यालय बाराको टोलीले नेपालबाट भन्सार छलेर चोरी पैठारी गरी नेपाल भित्र्याइएको दस लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ।
बाराका विभिन्न स्थानबाट कपडा, चिनी, बिस्कुट, खाने तेल, सरफ, सेम्फु, चपरा, केराउलगायत बरामद गरिएको प्रहरीले जनाएको छ।
यस्तै, राति १० बजे इलाका प्रहरी कार्यालय प्रसौनी बाराको टोलीले परवानीपुर गाउँपालिका वडा नं. ५ गण्डक नहरस्थित सडकमा भारतबाट भन्सार छली बा १९ च ३९५४ नम्बरको स्कार्पियो गाडीमा लुकाइछिपाइ ल्याएको स्टेबलाइजर २० थान बरामद गरेको छ।