अमेरिकाले पाँच मिनेटमै कोरोना भाइरस परीक्षण गर्ने नयाँ मेसिन प्रयोगमा ल्याएको छ।
खाद्य तथा औषधि निकाय ‘फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन’ ले डाक्टरहरूका अफिस, क्लिनिक तथा अन्य साना स्तरका सेवाप्रदायक निकायमा यो मेसिन प्रयोग गर्ने अनुमति दिएको हो।
इलिनोय राज्यको ‘एबोट ल्याबोरेटरिज’ ले उत्पादन गरेको यो मेसिनले कोरोना परीक्षणका लागि ठूलो प्रयोगशाला र लामो समय लाग्ने अवस्था अन्त्य गरिदिएको छ।
यसले मानिसको स्वाब परीक्षण गरेर ‘पोजिटिभ’ (संक्रमित भएको) भए ५ मिनेटमै जानकारी दिन्छ भने ‘नेगेटिभ’ (संक्रमित होइन भन्ने पुष्टि) भए १३ मिनेटमा जानकारी दिन्छ।
मेसिनको आकार ‘टोस्टर’ (पाउरोटी सेक्ने भाँडो) जत्रै छ। धेरैले रुघा, घाँटीको संक्रमण र श्वासप्रश्वाससम्बन्धी अन्य भाइरस परीक्षणमा यो मेसिन प्रयोग गर्दै आएका छन्। त्यसैमा ४० अमेरिकी डलर पर्ने बेग्लै ‘कार्टिज’ राखेपछि कोरोना पनि परीक्षण हुनेछ।
कार्टिजको आकार प्रिन्टर मेसिनहरूमा पछि थपिने मसी राख्ने भाँडो (कार्टिज) जत्रै हुन्छ। यो कार्टिजको विकास कोरोना भाइरसको ‘जेनेटिक संकेत’ पत्ता लगाउन हालै गरिएको हो।
मेसिनको लागत र परीक्षण खर्च हाल रुघा परीक्षणसँग लगभग बराबर छ। यसले भाइरसको ‘जेनेटिक मेटेरियल’ लाई रासायनिक प्रतिक्रियाबाट परीक्षण गर्छ। परम्परागत प्रविधिबाट यही काम गर्न धेरै समय लाग्थ्यो। यसमा कम समयमै हुन्छ।
त्यसो भए के कोरोनाका सम्भावित बिरामीलाई यही प्रविधिबाट परीक्षण गर्न मिल्छ?
त्यो अहिले सम्भव नभएको कम्पनीले जनाएको छ। परम्परागत प्रणालीले एकै दिनमा हजारौं नमूना परीक्षण गर्न सक्छ, तर यसले एक घन्टामा मुश्किलले चारवटा मात्र नमूना परीक्षण गर्छ।
‘सार्वजनिक प्रयोगमा ल्याउने गरी परिस्कृत हुन समय लाग्छ,’ एबोट डाइग्नोस्टिक्सका अनुसन्धान तथा विकाससम्बन्धी उपाध्यक्ष जोन फ्रेल्सले भने।
डाक्टरका अफिस, क्लिनिक, साना स्तरका सेवाप्रदायक र मिहीन अनुसन्धान गर्ने प्रयोगशाला नभएका साना अस्पतालका निम्ति भने यो उपकरण उपयोगी हुनसक्छ।
फ्रेल्सका अनुसार नाक र घाँटीको पछाडिबाट संकलन गरिने नमूना (खकार) लाई मेसिनमा राख्नेबित्तिकै बिरामीमा भाइरसको मात्रा अत्यधिक छ भने तुरुन्तै नतिजा देखाइहाल्छ। पूर्ण परिक्षण सकिन भने १५ मिनेट लाग्छ। थोरै भाइरस भएको अवस्थामा यसले परीक्षण पूरा गर्न समय लगाउँछ।
ल्याबोरेटरिजले कोरोना परीक्षण गर्ने कार्टिजको उत्पादन व्यापक मात्रामा सुरू गरिसकेको छ। फ्रेल्सका अनुसार आउने सातादेखि प्रत्येक दिन ५० हजार जनालाई जाँच्न सकिने गरी उत्पादन र वितरण भइसक्छ।