मार्च ३० सम्म ६३ हजारभन्दा बढीलाई कोरोना भाइरस संक्रमण भएको जर्मनी बढी प्रभावित मुलुकमा पर्छ। मृत्यु हुनेको संख्या भने ५ सय ६० मात्र छ। यो भनेको ०.९ प्रतिशत हो।
जर्मनीको तुलनामा युरोपेली मुलुक इटालीको मृत्युदर ११ प्रतिशत छ। अमेरिकामा पनि संक्रमितमध्ये १.८ प्रतिशतको मृत्यु भइरहेको छ।
विज्ञहरूका अनुसार जर्मनीमा संक्रमण फैलिएर पनि मृतक संख्या कम हुनुको मुख्य कारण व्यापक रूपमा गरिएको परीक्षण हो।
‘इटालीजस्ता केही मुलुकमा असाध्यै धेरै लक्षण देखिएका बिरामीको मात्र परीक्षण गरिन्छ, जबकि जर्मनीले व्यापक परीक्षणको नीति लिएको छ,’ जर्मनीको इन्स्टिच्यूट अफ इपिडिमियोलोजीका डा. डिट्रिच रोटेनबाखरले भनेका छन्।
संख्या मात्र गन्ने हो भने जर्मनी संसारमै पाँचौ बढी संक्रमित मुलुक हो। तर, त्यहाँ पहिचान नभएका संक्रमित थोरै छन्। लगभग सबैजसो बिरामी पहिचान भइसकेको र क्वारेन्टाइनमा राखिएको छ। यसले संख्या बढी देखिए पनि खतराको जोखिम घटाएको विज्ञहरू बताउँछन्।
अन्य धेरैजसो मुलुकले व्यापक रूपमा परीक्षण गर्न सकिरहेका छैनन्। त्यहाँ आधिकारिक रूपमा जति बिरामी देखिएको छ, वास्तविक संख्या त्योभन्दा धेरै हुन सक्छ। यो जोखिमपूर्ण अवस्था हो।
मार्च १५ सम्मको तथ्यांकअनुसार जनसंख्याको सबभन्दा बढी परीक्षण गर्ने मुलुकमा युनाइटेड अरब इमिरेट्स, दक्षिण कोरिया र अष्ट्रेलियापछि जर्मनी थियो। जर्मनीले प्रत्येक दस लाखमध्ये २ हजार २३ जनाको परीक्षण गरिसकेको छ। माथिका तीन मुलुकमध्ये दक्षिण कोरियाले मात्र जर्मनीसँग मिल्दोजुल्दो हुने गरी मृत्युदर घटाएको छ। त्यहाँ १.६ प्रतिशतको मात्र मृत्यु भएको छ।
मार्च २० मा जर्मनीको मुख्य जनस्वास्थ्य निकाय ‘रोबर्ट कोच इन्स्टिच्यूट’ का अध्यक्ष लोथर विलरले जर्मनीका प्रयोगशाला हरेक साता एक लाख ६० हजारको परीक्षण गर्न सक्षम रहेको घोषणा गरिदिएका थिए। त्यो भनेको मार्च १५ सम्म दुई महिना लगाएर गरिएको परीक्षण हो।
यहाँ स्थानीय स्वास्थ्य संस्थाहरू स्वतन्त्र ढंगले काम गर्छन्। निजी कम्पनीले पनि परिआएका बेला परीक्षण ‘किट’ जस्ता अत्यावश्यक वस्तु व्यापक उत्पादन गर्छन्। फेब्रुअरी अन्तिमसम्म विश्व स्वास्थ्य संगठनले संसारभर पठाएको कोरोना परीक्षण ‘किट’ मध्ये कम्तिमा १४ लाखवटा जर्मनीको बर्लिनस्थित एउटै कम्पनीले तयार पारेको थियो।
त्यतिबेलै अमेरिकामा भने खाद्य तथा औषधिको बन्दोबस्त ठप्प थियो। परीक्षण ‘किट’ को व्यापक अभाव झेल्नुपरेपछि बल्लतल्ल मार्चको सुरूमा अमेरिकाले केही ठूला कम्पनीलाई उत्पादन गर्न छुट दिएको थियो।
‘महामारी फैलिँदै गर्दा नै जर्मनीले खतरामा रहेका जनसंख्याको परीक्षण सम्पन्न गरिसकेकाले उनीहरूलाई बिरामी वर्गीकरण गरेर सेवा दिन सहज भयो,’ स्मिथले भने।
यस्तो क्षमता विकास नगरेका मुलुकले गम्भीर बिरामीलाई मात्र प्राथमिकतामा राखेर काम गरेका थिए। कम असर परेकालाई राम्ररी परीक्षणै नगरेर छाडिदिन बाध्य भए। त्यसले कम असर परेका बिरामी मृत्यु हुनुअघि कोरोना भाइरसको तथ्यांकमै पर्न सकेनन्।
‘जति बढी बिरामी पत्ता लगाइन्छ, मृत्युदर त्यति नै घट्छ,’ स्मिथले भने।
जर्मनी र इटालीको जनसंख्यामा औसत आयुमा उच्च फरक छैन। युरोपियन युनियनका सदस्य राष्ट्रमध्ये यी दुई बढी बूढापाका भएका मुलुकमा पर्छन्। संक्रमित जनसंख्यामा जर्मनीको औसत आयु ४६ देखिएको थियो भने इटालीको ६३। यसले जर्मनीमा कति व्यापक मात्रामा परीक्षण गरिएको रहेछ भन्ने देखाउँछ।
जर्मनीमा सघन उपचार कक्षको बेड संख्या पनि अत्यन्त बढी छ। यसले उत्तरी इटालीका केही अस्पतालमा भिडभाडले जुन भयावह अवस्था देखिएको थियो, जर्मनीमा त्यस्तो भएन।
सन् २०१२ मै एउटा अखबारले दिएको जानकारीअनुसार जर्मनीमा प्रत्येक एक लाख जनसंख्याका लागि २९.२ वटा ‘क्रिटिकल केयर बेड’ उपलब्ध छन्। यस्ता बेडमध्ये यति बेलासम्म ७० देखि ८० प्रतिशतमा मात्र बिरामी रहेको अवस्था छ। यसको अर्थ, त्यहाँ अझै गम्भीर अवस्थाका बिरामी राख्न पर्याप्त ठाउँ छ।
इटालीमा भने प्रत्येक एक लाख जनसंख्याका लागि यो सुविधा १२.५ वटा मात्र छ। अर्थात्, आधाभन्दा कम। अमेरिकाको हकमा इटालीभन्दा अलि बढी, अर्थात् ३४.२ वटा छ।
‘यो महामारीका मामलामा हामी जर्मनहरू प्रारम्भिक चरणमै छौं भन्दा हुन्छ,’ डा. रोटेनबाखरले भने, ‘दुई वा तीन सातामा यो संख्या हेरफेर हुनसक्ने सम्भावना उत्तिकै छ।’