तपाईं लक डाउनमा बस्नु भएको छ तर टाढा रहेका छोराछोरीको यही बेला जन्मदिन पर्यो भने के गर्नुहुन्छ?
मोबाइलमा फोन गरेर वा सामाजिक सञ्जालमा भिडिओ कल गरेर शुभकामना दिनुहुन्छ। तर तपाईंसँग मोबाइल पनि छैन फेसबुक, ट्वीटर पनि चलाउन आउँदैन भने के गर्ने? मंगलबार जर्मनीमा एक महिलालाई यस्तै समस्या पर्यो। वृद्धाश्रममा बसेकी ती १०१ वर्षीया महिलाकी छोरीको मंगलबार जन्मदिन थियो। उनलाई छोरीको धेरै याद आयो तर भेट्न जानलाई कुनै साधन थिएन।
उनी छोरीलाई भेट्न कसैलाई थाहै नदिई वृद्धाश्रमको आपतकालीन द्वारबाट बाहिर निस्किइन्। तर छोरीको घरसम्म जाने बाटो पहिल्याउन सकिनन्। बाटोमा भेटिएका मान्छेलाई सोधिन्। बुढी मान्छेले बाटो बिर्सिन भनेर ती मान्छेले प्रहरीलाई खबर गरिदिए।
प्रहरी आयो। सोधपुछ गर्दा उनले आफू छोरीसँगै बस्छु भनिन् र ठेगाना दिइन्। बुढी मान्छेको कुरा प्रहरीले पत्यायो उनलाई छोरीको घरसम्म पुर्याइदियो।
प्रहरीले उनकी छोरीलाई सोधपुछ गर्दा थाहा भयो उनी त दुई हप्ताअघि देखि आश्रममा बस्न थालेकी थिइन्।
रहस्य खुलेपछि ती महिलाले प्रहरीलाई भनिन्- छोरीको धेरै याद आएपछि भेट्न आएकी हुँ।
प्रहरीले आमाछोरीलाई टाढैबाट भेट्न दियो अनि वृद्धालाई फेरि वृद्धाश्रममै पुर्याइदिएको थियो।