पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का नेताकृष्णबहादुर महरा पक्राउ परेसँगै फेरि एक पटक भेपमार्फत सुन तस्करीको विषय चर्चामा आएको छ।
महरा यही प्रकरणमा दोस्रो पटक पक्राउ परेका हुन्। पहिलो पटक उनलाई अनुसन्धानपछि छाडिएको थियो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले आइतबार विज्ञप्ति जारी गरेर पूर्वसभामुख महरालाई पक्राउ गरिएको बताएको छ।
२०७९ सालमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको ९ किलो सुन तस्करीमा महरा संलग्न रहेको आरोप छ।
उनले उक्त सुन छुटाउन पटक पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकारीहरूलाई दबाब दिएको अभियोग छ।
महरालाई प्रहरीले संगठित अपराध कसुरसमेत अभियोग लगाएको छ।
उक्त प्रकरण के हो?
२०७९ पुस १० गते फ्लाई दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङले लगेजमा ठूलो संख्यामा भेप (विद्युतीय चुरोट) भेटियो।
एक्सरे गर्दा भेप देखिएपछि भन्सारका कर्मचारीले व्यापारिक मालवस्तु हुन सक्ने र भन्सार राजश्व असुल गर्नुपर्ने भनेर रोकेका थिए।
चिनियाँ नागरिकको लगेजमा ७३ बट्टामा ७३० गोटा भेप थिए। ठूलो परिणाममा भेप ल्याएको देखेपछि प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठले कर्मचारीलाई जफत गर्न आदेश दिए।
श्रेष्ठले प्रहरीसँग गराएको कागजमा लगेजमा ठूलो परिणाममा भेप आएको जानकारी पाएपछि एउटा भेप चिनियाँ नागरिक हानसङलाई दिएर बाँकी भेप जफत गरिएको बताएका छन्।
व्यापारिक प्रयोजनका लागि ल्याएका मालवस्तु यात्रु शाखाबाट जाँचपास गर्न नमिल्ने हुँदा जफत गरिएको उनको भनाइ थियो। तर उनले उक्त भेपमा के छ भनेर खोलेर वा फुटाएर नहेरेको बताएका छन्।
जफत गरिएको उक्त भेप पुस १० गतेदेखि प्रमुख भन्सार अधिकृतको कार्यकक्ष अगाडि राखिएको थियो।
जफत भएको केही दिनपछि भन्सार एजेन्ट खुवाप्रसाद न्यौपानेले अधिकृत श्रेष्ठलाई भेटेर भेपको तोकिएको राजस्व बुझेर जाँच पास गरिदिन अनुरोध गरे। श्रेष्ठले त्यसको जाँचपास नहुने भनेर फर्काएका थिए।
श्रेष्ठलाई भेटेको भोलिपल्ट श्यामसुन्दर साह भन्ने व्यक्तिले पनि श्रेष्ठसँग भेटेका थिए। त्यो भेप जलविद्युत आयोजनामा काम गर्ने चिनियाँ कामदारका लागि ल्याइएकाले राजश्व दाखिल गरी जाँचपास गर्न उनले अनुरोध गरे। श्रेष्ठले उनले गरेको अनुरोध पनि मानेनन्।
राहुल महरा भन्ने व्यक्तिले पनि आफूलाई फोन गरी उक्त भेपको लिलामी प्रक्रियाबारे बुझेको श्रेष्ठले प्रहरीलाई बताएका छन्। राहुल नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा हुन्।
जफत गरिएको भेप पुस २९ गते मुद्दा शाखामा कानुनी कारबाहीको लागि पठाइएको थियो।
भेप ओसार्ने क्रममा सुरक्षागार्डको काम गर्ने निर्मलकुमार विक जोडिएका थिए। नासु सरोज श्रेष्ठले दुई वटा सुटकेश लिएर जाँदै गर्दा विकको सहयोग मागेका थिए।
मुद्दा शाखामा पुर्याएर सामान हेर्नका लागि उक्त सुटकेशको लक फुटाइयो। लक फुटाएपछि बन्द गर्दा एउटा सुटकेशको चेन राम्ररी लागेको थिएन। मुद्दा शाखाबाट सँगै रहेको गोदाममा विक आफैंले उक्त सुटकेश बोकेर लगे। त्यतिबेला सुटकेशबाट एउटा भेप झर्यो।
झरेको भेप उनले आफ्नो खल्तीमा हाले। सुटकेश गोदाममै राखेपछि उनी भेप बोकेर कोठामा फर्किए।
कोठामा उनले भेप प्रयोग गर्न खोजे। तर तान्दा धुँवा आएन। विभिन्न स्विच थिचेर, चार्ज गरेर हेर्दा पनि भेप चलाउन जानेनन्। त्यसपछि समाउने भागमा ब्याट्री राख्न मिल्छ कि भनेर उनले खोलेर हेरेका थिए। उनले भित्र प्लाष्टिकले प्याक गरी राखेको पहेँलो सुनजस्तो धातु फेला पारे।
त्यो धातु के रहेछ भनेर उनले ग्यासमा तताए। धातु पग्लिएन।
‘प्लास्टिकमा प्याक गरेको पहेँलो सुनजस्तो धातु देखे पनि सुन नै हो भन्ने मलाई थाहा भएन। मैले ग्यासमा तताउँदा पनि नपग्लिएपछि मेरो कोठामा सोही भन्सार कार्यालय उपसचिवका ड्राइभर दाइ आएपछि उनलाई देखाएको थिएँ। उक्त धातुलाई भाँचेर एक टुक्रा आफैंले राखेर दाइले चिनेको सुनचाँदी पसलमा गएँ,’ विकले प्रहरीसँग भनेका छन्।
पसलमा जाँच गर्दा पहेँलो धातु सुन नै भएको पुष्टि भयो। त्यो सुनको उनले सिक्री बनाए।
विकलाई जफत भएको अरू भेपमा पनि सुन हुन सक्छ भन्ने लाग्यो र त्यो कसरी आफूले लिन सकिन्छ भन्नेबारे योजना बनाउन थाले।
विमानस्थलमा जफत भएको सामान लिलामी हुन्छ। विकले लिलाम भएका सामान उठाउने बब्लु गुप्ता नामका व्यक्तिलाई चिनेका थिए। उनले बब्लुलाई जफत भएको भेपभित्र सुन रहेको जानकारी दिए।
बब्लुको चिनजान विमानस्थलमा कार्यरत सुब्बा रेवन्त खड्का र दिनेश बस्नेतसँगै थियो। दिनेशले भन्सारको लिलाम प्रक्रियामा सहभागी भएर लिलाम सकार्ने काम गर्थे।
बब्लुसँग विकले भेप भएको ठाउँसम्म आफूलाई पनि लिएर जान अनुरोध गरे।
‘तपाईंको सामान के कहाँ छ? तपाईंको सामान भेप भएको ठाउँमा भए मलाई पनि लिएर जानु, भेपभित्र सुन छ। मिल्यो भने म पनि ४÷५ पिस निकाल्छु,’ विकले बब्लुलाई भनेका थिए।
भेप कोठा नम्बर ११ मा राखिएको थियो। बब्लुले भेपमा सुन भएको कुरा रेवन्तलाई जानकारी गराए।
दुबै जना उक्त कोठामा गएर भेप निकालेर तानेर हेरेका थिए। तर धुँवा ननिस्केपछि रेवन्त आफैंले पछि हेर्ने जानकारी गराएर उनीहरू त्यहाँबाट निस्किए।
त्यहाँबाट फर्किएपछि भेपमा बहुमूल्य धातु छ भन्नेमा रेवन्त विश्वस्त भए। यता दिनेशले पनि भेप भित्र सुन रहेको थाहा पाइसकेका थिए। उनले सुन बेच्न व्यापारीसमेत खोजिसकेका थिए।
‘गोदाममा सिसिटिभीबाट निगरानी हुने भएकाले कोठामा थप चेक गरिनँ। १–२ दिनपछि मैले दिनेश बस्नेतलाई भेट्दा भेपमा सुन रहेको र सुन बिक्रीको लागि आफूले भारतीय नागरिकसँग डिल गरिसकेको बताएका थिए। त्यसबाट प्राप्त हुने रकम मलाई पनि दिने भनेका थिए,’ रेवन्तले प्रहरीसँगको बयानमा भनेका छन्।
करिब ८–१० दिनपछि मुद्दा शाखामा रहेका लिलामी गर्नुपर्ने र नष्ट गर्नुपर्ने सामानलाई छुट्याइयो। भेप पनि डिस्पोज गर्ने भन्दै रेवन्तले गोदामबाट १११ नम्बरको कोठामा सार्न लगाए। त्यहाँ सिसिटिभी जडान गरिएको छैन। डिस्पोज गर्ने सामान छुट्याउन कामदार जाँदा दिनेश बस्नेतसँगै जान्थे।
उनीहरूले पनि भेप जाँच्दा सुन नै फेला पारेपछि रेवन्तले दिनेशलाई ‘जे गर्नु पर्छ गर’ भनेर निर्देशन दिएका थिए।
‘ए दाइ सुन रहेछ त भन्दा उनले जे गर्नुपर्छ गर, के कसरी हुन्छ मिलाऊ भनेकाले मैले उनको सहयोग र संलग्नतामा लगभग ९ दिन लगाएर सुन झिकेको थिएँ। अनि त्यो भेपको साटो अर्कै ब्रान्डको भेप ल्याएर साटिदिएको थिएँ,’ दिनेशले भनेका छन्, ‘मैले सुन झिक्ने प्रयोजनका लागि फुटाएको भेपको खोल, बट्टा, भेपका टुक्राहरू धुलो बनाएर बानेश्वर सुकुम्बासी बस्तीनजिक बागमती खोलामा फालेको हुँ।’
उनले प्रहरीलाई दिएको बयानअनुसार भेपबाट ९ किलो सुन निस्किएको थियो। सुन सबै उनी आफैंले बिक्री गरेको पनि स्वीकारेका छन्।
उनले आफ्ना भिनाजु गोपाल सुवेदी र दिपेश बस्नेतसँग मिलेर सुन बेचेका थिए। दिपेश बस्नेत त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा कार्गो एजेन्टको रूपमा काम गर्थे। उनी दिनेशका सहोदर भाइसमेत हुन्।
गोपाल र दीपेशले वेदप्रकाश अग्रवाललाई चिनेका थिए। अग्रवाल विशालबजारमा घडी पसल चलाउँछन्। अग्रवालको माध्यमबाट उनीहरू सुन व्यवसायी साहेब राज मरगसम्म पुगे। उनकै पसलमा उनीहरूले ९ किलो सुन बेचे।
‘सम्पूर्ण सुन बिक्रीको रकम हिसाब गर्दा उनीहरूले ६ करोड २१ लाख हुन्छ भनेका थिए। त्यसमध्ये ६ करोडमात्रै उनीहरूले मलाई दिएका हुन्। अवैध सुन हो भन्ने थाहा पाएर उनीहरूले कम मुल्य तिरेर खरिद गरेका थिए,’ दिनेशले भनेका छन्।
६ करोड लिएपछि उनले ६५ लाख रेवन्तलाई बैंक खातामा हालिदिए। १० लाख रुपैयाँ भने नगदै दिए।
दिनेशले पाएको रकमबाट आफ्ना ससुरा केशव थापाको नाममा मध्यपुर ठिमी नगरपालिका दिव्येश्वरी प्लानिङ भित्रको जग्गा किने। जग्गामा उनले दुई करोड ७५ लाख रुपैयाँ हालेका थिए।
बाँकी पैसामध्ये दिनेशले बब्लु गुप्तालाई २० लाख दिएका थिए। बब्लुसँग पहिला लिएको ऋण तिरेको उनले बताएका छन्। उनले भाइ दिपेशलाई ८ लाख र जग्गा खरिद गरिदिने बिचौलियालाई पनि ८ लाख दिएका थिए। ४ लाख रुपैयाँको भने सुकुटे बिच रिसोर्टमा पुगेर खर्च गरेको उनले बयान दिएका छन्।
दिनेशले सुन बेचेर पैसा खर्च गरिसकेपछि भन्सार कार्यालयमा उक्त भेपको खोजी भयो। त्यतिबेला नासु रेवन्त भने कार्यालयमा थिएनन्। उनी कार्यालयमा नभएको बेला अर्का एक जना कर्मचारीले कोठा नम्बर १११ मा पुगेर भेप जाँच गरे।
सुरूमा मुचुल्का उठाउँदाको भेप र अहिले कोठा नम्बर १११ मा भएको भेप उस्तै नभएको देखिएपछि उनले प्रमुख भन्सार प्रशासक अम्बिकाप्रसाद खनाललाई यसको जानकारी दिए।
भन्सार प्रशासक खनालले रेवन्तलाई कार्यालयमा बोलाए। सोधपुछ गर्दा रेवन्तले दिनेशमार्फत् भेप साटेर एक करोड रुपैयाँ लिएको बताए।
भेप बिक्री गरिसकेको जानकारी पाएपछि अनुसन्धान गर्न भन्सार कार्यालयले गत वैशाख २६ गते सिआइबीलाई पत्राचार गर्यो।
प्रहरीले सुन चोरी गर्ने व्यक्तिहरूको पहिचान गरी पक्राउ गरे पनि सुन ल्याउने समूहबारे भने अनुसन्धान जारी नै रहेको बताएको छ।
यही सुन ल्याउने व्यक्तिहरूको सम्पर्क पूर्वसभामुख कृष्णबहादुर महरा, उनका छोरा राहुल महरा लगायतसँग समेत भएको सरकारी वकिल कार्यालयमा बुझाइएको प्रतिवेदनमा उल्लेख छ।
सिआइबीले यो घटनाको अनुसन्धान गर्ने क्रममा कसको कोसँग सम्पर्क भएको थियो भनेर एउटा चार्ट बनाएको थियो। उक्त चार्टमा महराको सम्पर्क शंकास्पद चिनियाँ नागरिकसँग भएको देखिन्छ भने उनका छोरा राहुलको सम्पर्क अरू चिनियाँ नागरिक र भन्सार अधिकृत श्रेष्ठसँग भएको देखिन्छ।

महरा चिनियाँसँगको सम्बन्धका कारण यसअघि पनि विवादमा आएका थिए। २०६७ सालमा एक जना चिनियाँ व्यापारीसँग ५० करोड रुपैयाँ मागेको उनको अडिओ टेप सार्वजनिक भएको थियो। प्रधानमन्त्रीको चुनावमा सांसदहरूलाई मिलाउनका लागि उक्त रकम चाहिएको उनले टेपमा बताएका थिए।
अहिलेको सुन प्रकरणमा महरा बाबु–छोराको संलग्नता कुन तहसम्म छ भन्नेबारे प्रहरीले खुलाएको थिएन।
लगेजमा भेप भेटिएका चिनियाँ नागरिक त्यही बेला नै केही दिन नेपाल बसेर विदेश गइसकेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री भएका बेला महराविरूद्ध मुद्दा चलाउन सिफारिस भएको थियो।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले ९ किलो सुन तस्करी प्रकरणमा मुद्दा चलाउनुपर्ने सिफारिस गरेको थियो।
गृह मन्त्रालयका अनुसार त्यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महरालाई मुद्दा नचलाएर उन्मुक्ति दिएको थियो। सिआइबीले इलेक्ट्रिक चुरोट (भेप)मार्फत् तस्करी भएको ९ किलो सुन प्रकरणमा उनलाई कागज मात्रै गराएर छाडेको थियो।
यद्यपि उनका छोरा राहुल महरालाई भने पक्राउ गरी मुद्दा चलाएको थियो।
महरा बाबुछोराको सम्पर्क सिधै तस्कर दाओजिन वाङसँग पटकपटक भएको सिआइबीकै अनुसन्धानमा देखिएको थियो। तर पनि सिआइबीले उनीहरूविरूद्ध पहिलो चरणको अनुसन्धानमा सोधपुछ नगरी मुद्दा बुझाएको थियो।