अछामदेखि दाङमा साथीको घरमा आएका एक युवक कुवाभित्र मृत फेला परेका छन्।
दाङको शान्तिनगर गाउँपालिका वडा नं. ६ डाँडातिलवारीस्थित कुवामा अछाममा २६ वर्षीय सुरज शाह मृत फेला परेका हुन्।
शाह अछाम जिल्लाको रामारोशन गाउँपालिका वडा नं. ३ का बासिन्दा हुन्। उनी दुई दिन अगाडि असार १४ गतेमात्रै अछामबाट डाँडातिलवारी निवासी आफ्ना साथी विश्वराज आचार्यको घरमा आएका थिए।
५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एसएसपी राजकुमार बैदवारका अनुसार सोमबार बेलुका आचार्य र शाह मादक पदार्थ सेवन र खाना खाएर राम्रैसँग सुतेका थिए।
तर मंगलवार बिहान शाह सुतेको कोठामा थिएनन्।
शाह फेला नपरेपछि उनको खोजी सुरू भएको थियो। खोजी गर्ने क्रममा मंगलबार दिउँसो साढे २ बजेतिर आचार्यको घर नजिकैको कुवामा शाह मृत फेला परेको प्रहरीले बताएको छ।
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ।