स्वास्थ्य मन्त्रालयले लक्षण देखिएका स्वास्थ्यकर्मीहरूको मात्र पिसिआर परीक्षण गर्ने जनाएपछि त्यसलाई तत्काल सच्याउन नेपाल चिकित्सक संघले माग गरेको छ।
सोमबार संघका पदाधिकारी सहितका टोलीले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई भेटेर निर्णय तत्काल सच्याउन भन्दै ध्यानाकर्षण गराएका छन्।
संघका अध्यक्ष डा. लोचन कार्कीले उक्त निर्णयले स्वास्थ्यकर्मी नै जोखिममा रहने र थप संक्रमण अरूमा पनि फैलिने डर भएकाले निर्णय सच्याउन आग्रह गरिएको जनाए।
उनले भने, 'लक्षणविहीनको परीक्षण नगर्ने हो भने त्यसबाट अन्य स्वास्थ्यकर्मीमा संक्रमण सर्न सक्छ। त्यसले स्थिति झन् बिग्रिन्छ।'
अध्यक्ष कार्कीले आम मान्छेको हकमा पनि लक्षणविहीन भए पनि परीक्षण गर्नुपर्ने र स्वास्थ्यकर्मी लगायत फ्रन्टलाइनमा काम गर्नेहरूको भने अनिवार्य परीक्षण गर्नुपर्ने बताए।
ध्यानाकर्षण गराएपछि मन्त्रालय निर्णय सच्याउन सकारात्मक भएको उनले जनाए।
'मन्त्रालयले छलफलकै क्रममा रहेकाले यसलाई सच्याउँछौं भनेको छ,' उनले भने।