रक्षा मन्त्री मिनेन्द्र रिजालले आफ्नो निर्वाचन क्षेत्र मोरङ २ का विभिन्न बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्।
उनले रतुवा नदीले प्रभावित पारेको रतुवामाई र उर्लाबारीको सीमाना गाईघाट क्षेत्र, रतुवामाई ७ स्थित राजाबास क्षेत्र, रतुवामाई ३ चौकीघाट त्यसैगरी बक्राह नदीबाट प्रभावित वडा नं. १ को सोनापुर र वडा नं. ५ को लारिकट्टा कुमालटोल क्षेत्रको निरीक्षण गरेका हुन्।
त्यसैगरी सुनवर्षी ७ बरडंगा मावि क्षेत्र, सुनवर्सी ६ केरञ्जा र कैमी, पथरी शनिश्चरे ५ सुन्दरी चौक, रंगेली ९ देमना, रंगेली ३ काजीमान चौक, कानेपोखरी १ पुतली चौक लगायत क्षेत्रको निरीक्षण गरे।
रक्षा मन्त्री रिजालले रतुवा नदीको पुल चाँडै सञ्चालनमा आउने गरी काम सुरू हुने बताए। साथै, बाढी प्रभावित क्षेत्रमा तत्काल स्थायी बाँध निर्माण गर्ने, पीडित परिवारलाई राहतको व्यवस्थापन गर्ने र बेमौसमी वर्षाले कृषकहरूको धानबाली तथा कृषि उत्पादनमा परेको क्षतिलाई मध्यनजर गर्दै कृषकहरूलाई समेत उचित राहतको व्यवस्थापन सरकारले गर्ने प्रतिबद्धता जनाए।
प्रदेश सांसद शिवनारायण सिंह, रतुवामाई नगरपालिकाका मेयर रविन राई, सुनवर्सी नगरपालिकाका मेयर कालीप्रसाद दास लगायतले निरीक्षण गरेका थिए।