नेपालका माउन्टेन बाइकर मंगल कुमार लामाले १७ सय किलोमिटर साइकल यात्राको तेस्रो चरण पार गरेका छन्। अप्रिल १ अर्थात् चैत १८ गतेबाट पुर्वको कञ्चनजंगा, बेस क्याम्पदेखि सुरू गरेको यात्राको ४० औं दिन (मार्च २८) लास्ट रिसोर्टमा एक कार्यक्रम गर्दै लामाले तेस्रो चरण पार गरेको जानकारी दिएका हुन्।
तीन चरणको यात्रामा उनले सुरूको २० दिनमा दुइटा ६ हजार मिटर र ४५०० सय मिटरको पास पार गरेका थिए। ६१९० मिटरमा रहेको वेस्ट कोल भन्ने ठाउँमा पुगेपछि उनले यात्राक्रममा चाहिने केही सामाग्री र स्लिपिङ ब्याग हराए। यसकारण यात्रा केही समय यात्रा रोक्नुपर्यो। मे ७ मा पुनः यात्रा सुचारू भयो।
त्यसपछि ५ हजार मिटरमाथिका अन्य चार मुख्य पास पार गरेर उनी थप २० दिन (मे २६) मा लास्ट रिसोर्ट आइपुगे। यही मे २९ गतेदेखि यात्रा पुनः सुचारू गरेका लामाले सेतोपाटीसँग यात्रा अनुभव साट्दै भने, ‘कहिले ढुंगाहरू बुरूरू झर्ने ठाउँबाट साइकल लग्नुपर्थ्यो त कहिले हिमनदीको सामना गर्नुपर्थ्यो। एक ठाउँमा त डोरी लगाएर आफू अनि साइकललाई तान्नुपरेको थियो। यस्ता यावत कारणले यात्रा चुनौतीपूर्ण थियो। अबको यात्रा केही सहज हुने अपेक्षा राखेको छु।’
अब उनको यात्रा गोसाइकुण्ड, रसुवा, गणेश हिमाल, मनास्लु, मनाङ, अन्नपुर्ण, थोरोङला पास, कागबेनी, जुम्ला, डोल्पा हुँदै हुम्लामा पुगेर अन्त्य हुनेछ। करिब ३० दिनमा बाँकी यात्रा सक्ने उनले लक्ष्य राखेका छन्।
‘पानी पर्यो वा मौसम खराब भयो भने यात्रा अलि लम्बिन सक्छ,’ उनले भने।
लामाले करिब ८० दिनमा आफ्नो यात्रा सक्ने अनुमान गरेका छन्। यो यात्रा उनले नेपालको साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सुरू गरेका थिए। साहसिक मानिने यो ट्रेलमा अहिलेसम्म मान्छेले हिँडेर र दौडिएर यात्रा गरेका छन्। साइकलमा यात्रा गर्नुलाई चुनैतिपूर्ण र कष्टकर मानिन्छ।
माउन्टेन बाइकरको रूपमा यात्रा गर्नुअगाडि लामा साइकल पसलमा मेकानिकको रूपमा काम गर्थे। बिस्तारै त्यही पसलको साइकल त्यहाँका मालिकले थाहा नपाउने गरी चलाउँदै उनी यो पेशामा लागेका हुन्। त्यसक्रममा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने मौका पाए। जसमध्ये दशवटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पाउँन सफल भइसकेका छन्।
सानैदेखि फरक शैलीको काम गर्ने चाहना राख्ने लामाले त्यहीक्रममा ग्रेट हिमालयन ट्रेलको यात्रा गरेका हुन्।
‘यो ट्रेलको यात्रा गर्नु एक वर्षअघिसम्म सपनाजस्तो लाग्थ्यो,’ उनले भने, ‘गएको ६ महिनामा साथीभाइको सहयोग र सरसल्लाहले त्यो सपना विपना बन्दैछ। ढृढ चाहना भयो भने असम्भव लाग्ने कुरा पनि सम्भव हुन्छ भन्ने अनुभव यो यात्राले दिएको छ।’