निजी सवारी साधनले यात्रु बोकेपछि दाङमा सार्वजनिक सवारी साधन संचालकहरूले विरोध गरेका छन्।
त्रिसिद्धेश्वरी राप्ती सार्वजनिक यातायात प्रालि, अम्विकेश्वरी सार्वजनिक यातायात व्यवसायी प्रालि तथा तुलसीपुर टेक्सी तथा माइक्रो मिनिबस बस व्यवसायी प्रालिले विज्ञप्ति निकालेर निजीले यात्रु बोकेको भन्दै विरोध गरेका हुन्।
त्रिसिद्धेश्वरी राप्ती सार्वजनिक यातायात प्रालिका प्रशासनिक सचिव मिनप्रकाश शर्मा (प्रकाश भट्ट), तुलसीपुर टेक्सी तथा मिनी माइक्रो बस व्यवसायी प्रालिका अध्यक्ष पवन बुढाथोकी तथा अम्विकेश्वरी यातायात प्रालिका सचिव घनश्याम बस्नेतले यसबारे जिल्ला प्रशासन कार्यालयलाई पनि ध्यानाकर्षण गराइसकेका छन्।
रातो प्लेटका सवारी साधनले यात्रुहरू ओसार्दा सार्वजनिक सवारी साधन सञ्चालकहरूलाई मर्का परेको उनीहरूको भनाइ छ।
उनीहरूले निजी सवारी साधनले यात्रु बोकिरहने हो भने आन्दोलन गरिने चेतावनी दिएका छन्।
प्रादेशिक यातायात कार्यालय राप्तीले भने स्थानीय तहको सिफारिसअनुसार नै रुट परमिट दिने गरेको बताएको छ।
प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले पछिल्लो समयमा रातो प्लेटका सवारी साधनले यात्रु बोकेको गुनासो आएको हुँदा त्यो रोक्न सम्बन्धित सुरक्षा निकायलाई निर्देशन दिइएको बताए।
निजी सवारी साधनले यात्रु बोकेमा कारबाही गरिने उनको भनाइ छ।