पाल्पाको तिनाउ नदीमा डुबेर बेपत्ता भएका अर्का एक भारतीय किशोरको पनि शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार आइतबार दिउँसो तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर दुईजना भारतीय किशोर बेपत्ता भएका थिए।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीका अनुसार भारतको उत्तर प्रदेश सन्तकबिर नगर, मेधावल ठाकुरद्वार नगर पञ्चायत वडा नं. १८ बस्ने १७ वर्षीय अमान अन्सारी र फहरान अन्सारी आइतबार दिउँसोदेखि तिनाउमा डुबेर बेपत्ता भएका थिए।
अन्य पाँच जनासँगै नेपाल घुम्न आएका उनीहरू तिनाउ गाउँपालिका वडा नं. ३ स्थित जलविधुतको ड्याम क्षेत्रमा पौडी खेल्ने क्रममा आइतबार साढे ३ बजेतिर अमान र फहरान रहमा डुबेर बेपत्ता भएका थिए।
ड्यामसाइडको पानीको रहमा डुबेर बेपत्ता भएका अमान र फहरान सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। अमानको शव सोमबार बिहान सवा १० बजेतिर घटनास्थलबाट करिब १ सय मिटर तल फेला परेको थियो भने फहरानको शव सोमबार दिउसो ४ बजेतिर घटनास्थलबाट २ सय मिटर तल खोलामा डुबेको अवस्थामा फेला परेको हो।
प्रहरी नायव उपरीक्षक चौधरीले उनीहरूसँग घुम्न आएका अन्य पाँच जना भने सकुशल रहेको जानकारी दिए। ड्यामसाइडमा पौडी खेल्ने क्रममा हरेक वर्ष कैयौं व्यक्तिको डुबेर मृत्यु हुने गरेको छ। ड्यामसाइड र भुतखोलामा डुबेर मृत्यु हुने क्रम नरोकिएपछि सूचना टाँस गरेर पौडी खेल्न नजान आग्रह गर्दै आएको छ।