सर्बिया पठाइदिन्छु भन्दै १२ लाख ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई ठगी आरोपमा पक्राउ गरेको एसपी मिलन केसीले जानकारी दिए।
सर्लाही हरिवन नगरपालिका-५ घर भई काठमाडौं-३२ तिनकुने बस्ने २७ वर्षीय निरोज बुढाथोकी पक्राउ परेका हुन्।
उनले ४ जनालाई वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु भनेर फकाएका थिए। प्रत्येक व्यक्ति साढे ५ लाख रुपैयाँ लाग्ने र पुगेपछि मासिक एक लाख भन्दा बढी तलब हुने कृषि कम्पनीमा काम लगाइदिन्छु भनेर विश्वासमा लिएका थिए।
त्यसरी पटकपटक गरी पीडितहरूबाट १२ लाख लिएर सम्पर्कबिहीन भएको एसपी केसीले बताए।
वैदेशिक रोजगार विभागबाट पक्राउ गर्न पत्र पठाएपछि प्रहरीले उनलाई सोमबार सिनामंगलबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमाथि थप अनुसन्धान गर्न विभागमा पठाएको कार्यालयले जनाएको छ।