काठमाडौंको गोकर्णेश्वर नगरपालिका-३ स्थित तारेभिरमा मृत फेला परेका पुरूषको परिचय खुलेको छ।
शनिबार बिहान तारेभिरको जंगल छेउको खोल्सामा पुरूष मृत भेटिएको सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनको परिचय खुलेको हो।
घटनास्थलमा पुगेका प्रहरी निरीक्षक (इन्सपेक्टर) नरेन्द्र बोगटीले मृत फेला पर्ने व्यक्ति ५० वर्षीय सुवास तामाङ रहेको सेतोपाटीलाई जानकारी दिए।
इन्सपेक्टर बोगटीका अनुसार सुवासको स्थायी ठेगाना सर्लाही रहेको खुलेको छ। उनी केही समयदेखि काठमाडौंको बुढानीलकण्ठमा टहरा बनाएर बस्दै आएका थिए।
‘त्यहाँ उनी कान्छी श्रीमतीसँग बस्दै आएका रहेछन्। शुक्रबार मध्याह्नतिर श्रीमतीलाई ‘काम खोज्न जान्छु’ भनेर बुढानीलकण्ठस्थित घरबाट निस्किएका रहेछन्,’ इन्सपेक्टर बोगटीले भने।
उनका अनुसार सुवास मृत फेला परेको खोल्सामाथि गोरेटो बाटो छ। त्यहाँ लेऊ लागेका ढुंगाहरू पनि रहेका कारण ढुंगामा चिप्लिएर खोल्सामा पछारिएको हुनसक्ने प्रहरीको अनुमान छ। खोल्सामा पनि ढुंगैढुंगा रहेको र त्यही ढुंगामा बजारिएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
सुवासकी कान्छी श्रीमती र आफन्त पनि घटनास्थल पुगेका थिए। उनीहरूसँग सामान्य सोधपुछ र सनाखतपछि शव पोष्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज पठाइएको इन्सपेक्टर बोगटीले जानकारी दिए।
अब पोष्टमर्टम रिपोर्ट आएपछि सुवासको मृत्युको कारण खुल्ने उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको इन्सपेक्टर बोगटीले जानकारी दिए।