काठमाडौंको माइतीघरमा नेपालको संविधानको किताब जलाएको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले संविधान दिवसको दिन संविधान जलाएको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूमाथि परिसरले अभद्र व्यवहारको कसुरमा काठमाडौं प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको परिसर प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए।
उनका अनुसार सुरूमा १६ जना पक्राउ परेका थिए। तर दुई जनाको परीक्षा भएकाले छाडिएको थियो।
पक्राउ पर्नेमा थरूहट थारूवान राष्ट्रिय मोर्चा, युथ एसोसिएसन अफ नेपाल र तराई मधेस राष्ट्रिय परिषद समूहका व्यक्तिहरू छन्।
बाराका आकाश महर्जन, महोत्तरीका राजु महतो, रौतहटका चन्दन शाह, सिरहाका शिव यादव, धनुषाका रूपेश यादव, महोत्तरीका गौतम शर्मा, धनुषाका अर्जुन शाह, महोत्तरीका सपना यादव, सिरहाका रामकुमार महतो, धनुषाका आर्यन यादव, महोत्तरीका चुडामणि यादव, धनुषाका शिव यादव र सर्लाहीका राहुलराज यादव पक्राउ परेका थिए।
यीमध्ये दुई जनाको परीक्षा भएकाले छाडिएको ढुंगेलले बताए।
यस्तै अर्को राजतन्त्र पक्षधरले पनि संविधान जलाएका थिए। यसमा संलग्न सुनसरीका अनिलकुमार थापा, स्याङ्जाका विमल खत्री र रूपन्दहीका दिपेश भारद्वज पक्राउ परेका हुन्।