इन्जिनियरिङ शिक्षाको शुल्क विवादले नयाँ रूप लिएको छ। मंगलबार पुल्चोक इन्जिनियरिङ क्याम्पसका ६ विभागीय प्रमुखहरूले स्ववियुलाई नै ‘कार्यभार सुम्पिएको’ भनेर विज्ञप्ति निकालेपछि शुल्क विवाद नयाँ चरणमा प्रवेश गरेको हो।
‘यस इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका पुल्चोक, थापाथली र पूर्वाञ्चल क्याम्पसका स्ववियु सभापतिहरूद्वारा असोज १२ गते जारी गरिएको संयुक्त विज्ञप्तिमा उल्लेखित संवेदनहीन शब्द र नियतप्रति हामी विभागीय प्रमुखहरुको गम्भीर ध्यानाकर्षण भएको छ, विभागीय प्रमुखहरूले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘उच्च आकांक्षा बोकेका स्ववियु सभापतिहरूलाई विभाग चलाउन मार्ग प्रशस्त गरिदिने सल्लाह भएकोले विभागीयका सम्पूर्ण कार्य सञ्चालन जिम्वेवारी सुम्पिएको जानकारी गराउँदछौं।’
अप्लाइड साइन्स तथा केमिकल इन्जिनियरिङ विभागका प्रमुख हेमराज पन्त, सिभिल इन्जिनियरिङ विभागका प्रमुख गोकर्ण मोत्रा, आर्किटेक्चर विभागका प्रमुख सञ्जय उप्रेती, कम्प्युटर इन्जिनियरिङ विभागका प्रमुख ज्योती तण्डुकार, इलेक्ट्रिकल इन्जिनियरिङ विभागका प्रमुख युवराज अधिकारी, मेकानिकल तथा एरोस्पेस इन्जिनियरिङ विभागका प्रमुख सुदीप भट्टराईले विज्ञप्ति निकालेर कार्यभार सुम्पिएको बताएका हुन्।
गत असोज १२ गते इन्जिनियरिङ संस्थानअन्तर्गतका पुल्चोक, थापाथली र पूर्वाञ्चल क्याम्पसका स्ववियु सभापतिहरूले संयुक्त विज्ञप्ति निकालेर शुल्क वृद्धि नगर्न र पुरानै शुल्कमा भर्ना लिन भनेका थिए।
उनीहरूले पुरानो शुल्कमा क्याम्पस चलाउन सकिँदैन भने स्ववियुले नै अहिलेको भन्दा गुणस्तर वृद्धिका साथ क्याम्पस चलाएर देखाउने बताएका थिए।
‘क्याम्पस चलाउन सकिँदैन भन्दै भ्रमात्मक खबरको पक्षमा उभिएका सम्पूर्णलाई के अवगत गराउन चाहन्छौं भने भर्खरै निर्वाचित स्ववियुले अब जिम्मा लिनेछ र अहिलेको भन्दा गुणस्तर वृद्धिका साथ क्याम्पस चलाएर देखाउनेछौं,’ स्युवियु सभापतिहरूले विज्ञप्तिमार्फत् भनेका थिए, ‘यसर्थ हामि ४८ घन्टाभित्र सरोकारवालापक्षहरूको बीचमा शुल्क सहमत गराइ प्रवेश परिक्षाको मिति तोक्न आग्रह गर्दै अन्यथा आन्दोलनको नयाँ स्वरूप अवलम्बन गर्ने चेतावनी दिन चाहन्छौं। आशा छ यसलाई टुलुटुलु हेरेर हामिले त केही गर्न सकिन्न भनेर बस्नुहुने सबैले यस कुराको गाम्भिर्यतालाई महसु गरी यथासक्य सामुहिक योगदान दिनुहुने छ भन्ने आशा राख्दछौं।’
इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको नयाँ भर्नामा ७ लाख ७५ हजार लाग्ने गरी शुल्क निर्धारण गरिएको थियो।
त्यसका विरूद्ध विद्यार्थी संगठनहरू आन्दोलित भएका थिए। त्रिवि र विद्यार्थी संघ–संगठनबीच शुल्क पुनरावलोकन गर्ने सहमति भएको थियो।
यसबीचमा शुल्क पुनारावलोकनका लागि समिति बनेर ५ लाख ५४ शुल्क सिफारिस गर्यो। स्ववियु र विद्यार्थी संगठन त्यसमा सहमत नभएपछि सोमबार त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानको डिनको कार्यालयले पुरानै शुल्कमा प्रवेश परीक्षाको फारम भर्ने म्याद थप गर्यो।
‘शैक्षिक वर्ष २०८०/०८१ का विभिन्न कार्यक्रमहरुमा इन्जिनियरिङ अध्ययन संस्थानका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरूमा पुरानै शुल्कमा विद्यार्थी भर्नाका लागि सूचना प्रविधिको आधारमा कम्प्युटर विधिवाट सञ्चालन गरिने प्रवेश परीक्षाको फाराम मिति २०८० असोज १७, १८ र १९ गतेसम्म फाराम भर्ने समय थप गरिएको छ। साथै २०८० असोज २२ गतेदेखि प्रवेश परीक्षा सञ्चालन गर्ने व्यहोरासमेत सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ डीन शशीधर राम जोशीले जारी गरेको सूचनामा भनिएको छ।
अब इन्जिनियरिङ शिक्षामा पुरानै शुल्क अर्थात् तीन लाख १३ हजार कायम भएको छ।
विद्यार्थी संघ–संघठन र स्ववियुले बलमिच्याइँपूर्वक सूचना जारी गर्न लगाएको भन्दै विभागीय प्रमुखहरूले सामूहिक रूपमा कार्यभार सुम्पिएको बताएका छन्। यस्तो परिस्थितिमा काम गर्न नसकिने उनीहरूले बताएका छन्।