सुत्केरी भएपछिको ६ हप्तासम्मको समयमा महिलाहरूमा विभिन्न खालका मानसिक समस्या आउँछन्।
यो बेलामा पोस्टपार्टम ब्लुज, डिप्रेसन कतिपय महिलालाई पोस्टपार्टम साइकोसिस समेत हुन्छ। बच्चा जन्माएपछि महिलामा धेरै परिवर्तन आउँछ। आफ्नो मात्र होइन बच्चाको समेत हेरचाह गर्नुपर्छ। सँगै रातमा उठ्ने, बच्चालाई दूध खुवाउनेदेखि अन्य हेरचाह गर्नुपर्ने हुन्छ। आफ्नो निन्द्रा नपुग्ने, खानपिन नमिल्ने हुन्छ। सुत्केरी अवस्थामा आएका पीडा अनि शरीरमा आएको हर्मोनको परिवर्तन लगायतले महिलामा मानसिक समस्या हुन सक्छ।
यस्तो भएमा एक्लै बस्न मन लाग्ने, सकेसम्म बच्चा हेर्न नपरे हुन्थ्योजस्तो हुने, झोक्राएर बस्ने हुन्छ। यसका पनि तह हुन्छन्। जस्तो पोष्टपार्टम ब्लुजमा एक्लै बस्न मन लाग्ने हुन्छ भने डिप्रेसन भइसकेपछि फरक हुन्छ। डिप्रेसन भइसकेपछि खान मन नलाग्ने, एक्लै बस्ने हुन्छ। तेस्रो भनेको साइकोसिस हो। पोष्टपार्टम साइकोसिस भइसकेपछि खतरनाक लक्षण देखिन सक्छ। बच्चालाई फाल्दिने, बच्चालाई हानी पुर्याउने सम्मका घटना हुन सक्छ।
यस्तो बेलामा सबभन्दा ठूलो भूमिका परिवारको हुन्छ। त्यसमा पनि श्रीमानको भूमिका सबभन्दा महत्वपूर्ण रहन्छ। तर हाम्रो देशको धेरै युवा विदेशमा छन्। यदि श्रीमान साथमा छैनन् भने परिवारको भरपुर साथ चाहिन्छ। श्रीमान भएको बेलामा समेत परिवार त चाहिन्छ तर श्रीमान साथमा नहुँदा अझै चाहिन्छ। सुत्केरीलाई समय दिन सकियो, उनका कुरा सुन्न सकियो अनि पर्याप्त निन्द्रा पुग्यो भने यो समस्या कम हुन्छ। तर बच्चा जन्मिएपछि महिलाको मात्रै जिम्मेवारी हो भन्ने ठानिन्छ। महिलालई चाहिने खानपिन आराम र सुताइ पुगेन भने यस्ता समस्या आउने हो। रातिको समयमा कम्तीमा ४ देखि ६ घण्टा सुत्ने वातावरण बनाउने अनि दिउँसोमा पनि आराम जरूरी छ। यस्तो बेलामा सबभन्दा ठूलो कुरा भावनात्मक साथ नै हो।
कतिपय अवस्थामा बच्चाले दूध नखाएर सुत्केरीलाई पीडा हुन्छ। कहिलेकाहीँ महिलाको दूध नै नआउन सक्छ। यस्ता अप्ठ्याराहरूको सामना सबै मिलेर गर्नुपर्छ।
सुत्केरीपछिको मानसिक समस्या समाधानका लागि काउन्सिलिङ नै महत्वपूर्ण हो। घर परिवारले मनोचिकित्सककहाँ लैजानपर्छ। त्यस्तै, सुत्केरीका कुरा राम्रोसँग सुन्दिनु पर्छ। जस्तो उनलाई घ्यु खान मन पर्दैन भने कर गर्न भएन।
सुत्केरीपछिको मानसिक समस्यालाई बेवास्ता गर्नु हुँदैन। सबैभन्दा पहिला पोष्टपार्टम ब्लुज हुन्छ, त्यसपछि डिप्रेसन हुन्छ। अन्तिम अवस्था भनेको साइकोसिस हुन्छ। त्यस्तो बेलामा एउटा आमाले मेरो बच्चा होइन भन्ने स्थिति आउँछ। तर यस्तो कुरालाई हामी धेरैले ख्याल गरेका हुँदैनौं। त्यसैले लुकेर रहेका यस्ता समस्या समाधान गर्न घर परिवार अनि समाजले ध्यान दिनुपर्छ।
गर्भावस्था या सुत्केरी जुनसुकै अवस्थामा श्रीमान भनेको सबभन्दा नजिकको साथी हो। कसैलाई नभन्ने कुरा श्रीमानलाई भन्न सकिन्छ। तर हाम्रो समाजमा धेरै युवा विदेश छन्। त्यसैले गर्भवती महिला आफ्नो परिवार अनि आफन्तसँग अस्पताल जान्छिन्। कतिपय अवस्थामा त एक्लै जानुपर्ने हुन्छ। श्रीमान साथमा नहुँदा मानसिक समस्या अझै बढेर जान्छ।
युवाहरू विदेश गएका कारण इनफर्टिलिटीको समस्या उत्तिकै बढेको छ। तातो तापक्रममा काम गरेका कारण पुरूषको विर्यको क्वालिटी घट्दै गएको छ। महिलाको कारणले मात्र नभई पुरूषको कारणले हुने निसन्तानपनको समस्या बढेको छ।
एकातिर युवाहरू विदेश रहेका कारण गर्भ नरहने समस्या बढेको छ भने अर्कोतिर सुत्केरीसँग श्रीमान साथमा नहुँदा पोष्टपार्टम साइकोसिसको समस्या समेत बढेको छ।
(स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.वसन्त शर्मा नारायणी सामुदायिक अस्पताल भरतपुरमा कार्यरत छन्।)