हुम्लामा एक जना किशोरीको शव फेला परेको छ।
सोमबार बिहान खार्पुनाथ गाउँपालिका-१ बोक्चेगौडा नजिकै मुस्याडीस्थित कर्णाली नदी किनारमा एक किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता एवं प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले जानकारी दिए।
उनका अनुसार किशोरीको शव सडिसकेको अवस्थामा छ। अन्दाजी १६ वर्षकी किशोरीको शव हुनुपर्ने प्रहरीको अनुमान छ।
शवको पोष्टमर्टम गर्न जिल्ला अस्पताल हुम्ला लगिएको छ।
प्रहरीका अनुसार उक्त शव खार्पुनाथ गाउँपालिका-२ थालीका देवराज रावलकी १६ वर्षीया छोरी सुजाताको हुनुपर्ने आशंका गरिएको छ।
उनी नाम्खास्थित श्री महाबौद्ध माध्यामिक विद्यालय पढ्ने र याल्वाङ छात्रावासमा बस्ने गर्थिन्।
उनी अन्तिम पटक असोज ११ गते छात्रावासबाट सिमकोट गाउँपालिका वडा नम्बर ६ खानेपानी ट्यांकी नजिकै रहेको आफन्त अमरबहादुर शाहीको घरमा पुगेकी थिइन्।
तर भोलिपल्ट उनी घरमा कसैलाई नभनी हिँडेकी थिइन्। त्यसदिन देखि उनी बेपत्ता रहेको प्रहरीले जनाएको छ।
‘गाउँमा फेला परेकाले त्यही किरोशीको शव हो भनेर परिवारले भन्नुभएको छ। हामीले अनुसन्धान गर्छौं,’ प्रहरी निरीक्षक चन्दले भने, ‘आवश्यक परे डिएनए टेष्ट पनि हुन्छ।’
१३ गते सुजाताका आफन्त जिल्ला प्रहरी कार्यालय हुम्लामा पुगेका थिए।