काठमाडौंको धापासीमा एक जना पुरूषको हत्या आरोपित प्रहरीले सार्वजनिक गरेको छ।
शनिबार मध्याह्नमा काठमाडौं महानगरपालिका वडा नम्बर ६ धापासीस्थित टहरामा एक जना पुरूषको शव फेला परेको थियो।
उक्त टहरा दिनेश खड्काको हो। जहाँ ओखलढुंगा लिखु गाउँपालिका वडा नम्बर ३ का २३ वर्षीय दिपेश खड्का बस्दै आएका थिए।
दिनेश भने उक्त टहरामा बस्दैन थिए। त्यसदिन उनी त्यहाँ पुग्दा बाहिरबाटै ताला लगाइएको थियो। बाहिरबाट भित्र हेर्दा भने दिपेश मृत देखे। उनी मृत फेला परेपछि दिनेशले प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गरेका थिए।
त्यसपछि प्रहरी वृत्त महाराजगञ्ज र जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोली खटिएको थियो। त्यहाँको ताला फोडेर प्रहरी टहराभित्र पसेको हो।
प्रहरीका अनुसार घटनास्थल पुग्दा दिपेशको हत्या विभत्स तरिकाले गरेको भेटियो। उनको टाउकोमा पटकपटक हतौडाले हानेको अवस्थामा फेला परेको हो। हतौडाको बिँड पनि त्यहीँ घटनास्थलमा छुट्टिएको अवस्थामा फेला परेको थियो।
प्रहरीले मुचुल्कासँगै ती व्यक्तिको विवरणबारे सोधिखोजी गर्न थालेको थियो। जसक्रममा उनीसँग अर्का एक जना पनि बस्ने गरेको खुल्यो।
उनी हुन् ओखलढुंगा लिखु गाउँपालिका-३ का १८ वर्षीय विकास थापामगर।
उनलाई प्रहरीले आइतबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए।
प्रहरीले शंका लागेका उनीसँगै अन्य व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।
तर सबैले घटनाबारे अस्वीकार गर्दै आएका थिए। विकास भने उनीसँगै एउटै कोठामा बस्ने भएकाले उनी धेरै शंकाको घेरामा थिए।
पटक/पटक सोधपुछ गरेपछि भने उनले घटनाबारे स्वीकारेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए।
‘सुरूमा त उनले पनि होइन भनेर जिद्द गरे। तर सोधपुछ गर्दागर्दै उनले पछि हो हत्या गरेँ भनेर स्वीकारे,’ अनुसन्धानमा संलग्न ती अधिकारीले भने।
प्रहरीलाई उनले दिएको बयानअनुसार दिपेश प्लमिङको काम गर्थे। उनीहरू दुबै जना एउटै गाउँका हुन्।
गाउँबाट केही महिनाअघि उनी काम गर्ने भनेर काठमाडौं आएका थिए। गाउँमा हुँदा विकास खसी काट्ने काम गर्थे।
काठमाडौं आएपछि भने उनले दिपेशको हेल्परको रूपमा काम गर्न थालेका थिए। काठमाडौं आएर उनलाई खान बस्न सुविधा त दिइएको थियो। सँगै १५-२० हजार मासिक दिने भनेर पनि भनिएको थियो।
तर महिनौं बित्दा पनि दिपेशले पैसा दिएका थिएनन्। पैसा माग्दा दिपेशले सधैं हप्कीदप्की गर्ने गरेको विकासले प्रहरीसँग भनेका छन्।
विकासले प्रहरीसमक्ष दिएको बयानअनुसार माघ २६ गते बिहानैदेखि उनीहरू काममा लागेका थिए। बेलुकी साढे ६ बजेतिर उनीहरू कामबाट फर्किएका थिए। कामबाट फर्किएपछि विकास खाना बनाउनतिर लागे। त्यहीबेला दिपेशले खाटमा बसेर गाँजा केलाइरहेका थिए। त्यसदिन पनि विकासले पैसा मागे। तर दिनेशले दिने छाँटकाँट देखाएनन्।
त्यसपछि एक्कासि आवेगमा आएर उनले नजिकै रहेको हतौडाले दिपेशको टाउकोमा पटकपटक हिर्काएर हत्या गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भनेका छन्।
‘उनमा धेरै रिस रहेछ। हतौडाले पटकपटक हिर्काएका छन्। हतौडाको बिँड नफुस्किँदासम्म हिर्काएका छन्,’ अधिकारीले भने, ‘त्यसपछि उनी त्यहाँबाट भागेका हुन्।’
विकासले दिपेशसँग ४५-५० हजारसम्म लिन बाँकी रहेको र रिसमा हत्या गरेको प्रहरीको भनाइ छ।
टहराबाट भागेका उनलाई प्रहरीले काठमाडौंबाटै पक्राउ गरेको हो। उनीमाथि प्रहरी वृत्त महाराजगञ्जले थप अनुसन्धान अघि बढाएको छ।