सुनसरीमा शव जलाउने व्यक्तिमाथि चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
इटहरी उपमहानगरपालिका-४ का ३७ वर्षीय उमेश तामाङ पक्राउ परेका हुन्।
सोही पालिकाको मुक्तिघाटमा शव जलाउने काम गर्दै आएका स्थानीय २७ वर्षीय बिनोद तामाङमाथि चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा उमेशलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनलाई इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले सोमबार दिउसो पक्राउ गरेको हो।
घटनामा संलग्न अर्का व्यक्ति धरानका ३० वर्षीय अनिल तामाङको खोजी भइरहेको प्रहरीले बताएको छ।
मलामी गएका उमेश र अनिल तामाङले चिर्पट प्रहार तथा कुटपिट गर्दा गम्भीर घाइते भएका बिनोदको उपचारको क्रममा बेदान्त अस्पतालमा मृत्यु भएको हो।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।