एक किलो भन्दा बढी कोकिन सहित एक जना कंगोकी महिलालाई प्रहरीले पक्राउ गरेको छ।
लागु औषध नियन्त्रण ब्युरोको टोलीले १ किलो १०१ ग्राम कोकिनसहित एक जना महिलालाई गत शुक्रबार पक्राउ गरेको एसपी रामेश्वर कार्कीले जानकारी दिए।
पक्राउ पर्नेमा कंगोकी ४९ वर्षीया महिला अपुला एकुत्शु बोंगो छिन्। उनी जेठ ४ गते दुबईबाट काठमाडौं आइपुगेकी थिइन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पिछा गरी उनीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। उनी काठमाडौं महानगरपालिका वडा नम्बर १७ ठमेलस्थित एक होटलमा बसिरहेकी थिइन्।
उनको गतिविधि शंकास्पद भएपछि त्यहाँ पुगेर प्रहरीले खोजी गर्दा ह्याण्ड ब्याग भित्र झोलामा लुकाएर राखेको ८५ वटा प्लाष्टिक र्यापिङ गरिएको क्याप्सुल फेला परेको थियो।
उनले उक्त क्याप्सुल निलेर पेटभित्र लुकाएर ल्याएको अनुसन्धानबाट खुलेको एसपी कार्कीले बताए।
उनीबाट बरामद भएको १ किलो १०१ ग्राम कोकिन अवैध बजारमा अन्दाजी ३ करोड ८५ लाख रुपैयाँ पर्ने ब्युरोले जनाएको छ।
उनीमाथि प्रहरीले लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाएको छ।