ललितपुर महानगरपालिकाले हालसम्म तीनसय मेलमिलापकर्तालाई मेलमिलाप सम्बन्धी तालिम दिएको छ।
आइतबारदेखि सुरू भएको मेलमिलापसम्बन्धी आधारभूत तालिममा दुई समुहमा गरी ५४ जना सहभागी भएको ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बताइन्।
उपप्रमुख बज्राचार्यका अनुसार विवाद समाधान गर्न व्यवस्थित र संस्थागत गर्न मेलमिलाप केन्द्र स्थापना र मेलमिलापकर्ता तयार पार्न तालिम दिइएको हो।
‘विवादले खर्च, स्वास्थ्य र सम्बन्धलाई समेत सखाप पार्छ, त्यसैले विवादलाई जहाँ उत्पन्न भयो त्यहाँ नै समाधान गर्नुपर्छ,’ उपप्रमुख बज्राचार्यले भनिन्, 'विवाद बढ्दै जाँदा त्यसले अपराधिक मानसिकता समेत बढ्छ।'
मेलमिलापकर्ताको व्यवस्था घर घरमा हुनुपर्ने उप्रमुख बज्राचार्यको भनाइ छ।
कानुन महाशाखाका प्रमुख खगेन्द्र वस्तीका अनुसार १५ वटा वडामा मेलमिलाप केन्द्र स्थापना भइसकेको छ।
वस्तीका अनुसार महानगरका बाँकी १४ वटा वडामा भने पूर्वाधार निर्माणको काम भइरहेको छ।
प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले तालिम लिएकाहरू विवाद समाधानका लागि वडामा खटिएपछि मात्रै उपलब्धि मूल्यांकन गर्न सकिने बताइन्।
'तालिम लिएपछि मेलमिलापकर्ताले आफ्नो वडामा भएको विवाद वडा तहमै समाधान गर्न काम गर्छन्,' उनले भनिन्।