एसियाली विकास बैंक (एडिबी) ले मेलम्ची खानेपानी आयोजनालाई दुई अर्ब रुपैयाँ अनुदान दिने भएको छ ।
मेलम्ची खानेपानी आयोजनाको दातृ निकाय एडिबीले २ अर्ब (१९.७५ मिलियन अमेरिकी डलर) बराबर अनुदान दिएको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले बताए।
२०७८ असार १, साउन १६ र १७ गते भेमाथाङबाट आएको भलबाढीले तल्लो तटीय क्षेत्रमा क्षति पुर्याउनुका साथै मेलम्ची खानेपानीको हेडवर्क्स नै पुरेको थियो।
अहिले सरकारले त्यो हेडवर्क्स नयाँ ठाउँमा सार्ने तयारी गरेको छ।
सरकारले अम्बाथानबाट एक किलोमिटर माथि सर्कथलीमा बाँध सार्ने तयारी गरिरहँदा एडिबीले जलवायु परिवर्तनको असरसँग सम्बन्धित शीर्षकममा उक्त अनुदान रकम उपलब्ध गराउन लागेको हो। यसका अतिरिक्त एडिबीले नयाँ हेडवर्क्स, सुन्दरीजलमा ट्रिटमेन्ट प्लान्ट बनाउन ऋण सहायता उपलब्ध गराउने भएको छ।
अनुदान दिएको रकम पनि बाँध बनाउनै खर्च हुने सचिव आचार्यले जानकारी दिए। नयाँ ठाउँमा बाँध सार्न करिब ४ अर्ब खर्च हुने खानेपानी मन्त्रालयको अनुमान छ।
‘एडिबीले आफूले लगानी गरेको छ। आफैले अध्ययन गराएको छ। उसको यति धेरै लगानी भइसक्यो। उसले पनि त आफ्नो लगानी त्यतिकै खेर फाल्छ चाहँदैन। उसले गराएको अध्ययनमा माथि रकबेल्ट छ। त्यसमा रड खोपेर एंगल मिलाएर पानी पठाउने भनेको छ। साथै एडिबीले अहिले हामीलाई २ अर्ब भन्दा बढी ग्राण्ड दिएको छ। हाम्रो ड्यामेज ९० करोडको हो। उसले तपाईंहरूको ड्यामेज भयो हामी २ अर्ब दिन्छौँ भन्यो। हामीले त्यो सुविधा लिने कि नलिने ? हाम्रो खर्च ४ अर्ब होला आधा त कभर गरिदियो नि। बाँकी २ अर्ब त हामी १/२ वर्षमा उठाइदिहाल्छौँ नि! काठमाडौंमा पानी जान थालेपछि त,’ उनले भने।
दुई वर्षअघि नै एडिबीले हेडवर्क्स सुरक्षित स्थानमा सार्नुपर्ने सुझाव दिँदै आएको भए पनि मन्त्रिपरिषद्को बैठकले केही दिनअघि मात्रै सैद्धान्तिक सहमति दिएको थियो।
सरकारले सहमति जनाएसँगै आयोजनाले बाँध क्षेत्र सार्नका लागि परामर्श दाता छनौट प्रक्रिया अघि बढाएको छ। आयोजनाले ४ वर्षमा निर्माण सम्पन्न गरिसक्ने जनाएको छ।
मेलम्ची खानेपानी आयोजनामा अहिलेसम्म कति भयो खर्च?
राष्ट्रिय गौरवको आयोजनाको रूपमा मेलम्ची खानेपानी आयोजना २०५५/०५६ देखि सुरू भइरहेको छ। मेलम्ची खानेपानी परियोजनाअन्तर्गत दुई चरणमा काम भइरहेको छ। पहिलो चरणमा पहुँच मार्ग, सुरूङ, बाँध क्षेत्र लगायतको काम भइरहेको छ।
मेलम्ची खानेपानीको सुरूङ, पहुँचमार्ग निर्माण र मुआब्जा वितरणमा अहिलेसम्म ३१ अर्ब ३४ करोड ९ लाख रुपैयाँ खर्च भएको महालेखा परीक्षकको ६१ औं प्रतिवेदनमा उल्लेख छ।
मेलम्ची खोलाको पानी काठमाडौं पथान्तरण गर्ने यो परियोजनाको लागत ३५ अर्ब ५४ करोड अनुमान गरिएकामा पहिलो चरणअन्तर्गत सञ्चालित क्रियाकलापहरूमा यो वर्षसम्मको भौतिक प्रगति ९९ प्रतिशत रहेको महालेखाले जनाएको छ।
आर्थिक वर्ष २०६५/६६ देखि मेलम्ची खानेपानी उपआयोजना–२ सञ्चालित छ। यसले काठमाडौं उपत्यकामा खानेपानीको सञ्जाल विस्तार गर्ने काम गरिरहेको छ। आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले यो काम गरिरहेको हो।
यस उपआयोजनामा अहिलेसम्म ३७ अर्ब २८ करोड ५४ लाख खर्च भएको छ।
यस उपआयोजनामार्फत् थोक वितरण प्रणाली निर्माणतर्फ १०२.५६ किलोमिटर काम सक्नुपर्नेमा अहिलेसम्म ७९.२२ किलोमिटर अर्थात् ७७.२४ प्रतिशत काम सकिएको छ।
त्यस्तै वितरण सञ्जाल सुधारतर्फ १ हजार ७८१ किलोमिटरमध्ये १ हजार ६०५ किलोमिटर अर्थात् ९०.१२ किलोमिटर काम भएको महालेखाले जनाएको छ।
आगामी आर्थिक वर्षका लागि सरकारले मेलम्ची आयोजनमा ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।