काठमाडौंको न्यूरोडमा फुटपाथ विस्तार गर्ने काममा व्यवसायीहरूले अवरोध पुर्याएका छन्। यस अबरोधमा वडा अध्यक्षले नै नेतृत्व गरिरहेका छन्।
काठमाडौं महानगरपालिकाले न्यूरोडस्थित जुद्ध शालिक देखि इन्द्रचोकसम्मको फुटपाथ विस्तार गर्ने काम अगाडि बढाएको हो। तर न्यूरोडका व्यवसायी र महानगरको वडा नम्बर २२ का वडाध्यक्ष चिनिकाजी महर्जन लगायतले विरोध जनाएका हुन्।
महानगरले साउन २ गतेदेखि नै फुटपाथ विस्तारको काम अगाडि बढाएको थियो। शुक्रबार भने बिहानैदेखि व्यवसायीहरूले अवरोध पुर्याएका हुन्। काममा अवरोध पुर्याएपछि बिहानैदेखि नगर प्रहरी पनि न्यूरोडमा खटिएका छन्। जसक्रममा केही बेर दुईपक्षबीच धकेलाधकेल समेत भएको हो। वडाध्यक्ष महर्जन डोजरमाथि नै चढेर विरोध जनाइरहेका थिए।
यसरी दुईपक्ष आमनेसामने भएपछि सम्भावित दुर्घटना टार्नका लागि जिल्ला प्रहरी परिसर काठमाडौंबाट पनि बाक्लो प्रहरी परिचालन गरेको छ।
दुई जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को कमाण्डमा प्रहरी खटिएका छन्।
परिसरका प्रमुख एसएसपी बसन्त रजौरेका अनुसार अहिलेसम्म स्थिति नियन्त्रणमै छ। रिजर्भ प्रहरीसहित करिब ७० जनाको टोली खटिएको उनले बताए। अहिलेसम्म प्रहरीले कसैलाई नियन्त्रणमा लिइसकेको भने छैन।
उच्च अदालत पाटनका न्यायाधीशहरू ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले असार ३० गते काठमाडौं महानगरपालिकाको मागअनुसार अन्तरिम आदेश जारी भएको थियो। महानगरले न्यूरोडको फुटपाथ विस्तार गर्नुपर्ने माग गरेको थियो। त्यसअनुसार नै अदालतले अन्तरिम आदेश जारी गरेको थियो।
अदालतले आदेश दिएसँगै काठमाडौं महानगरले काम सुरू गर्दा अवरोध भएको हो।
महानगरले न्यूरोड क्षेत्रलाई पैदलमैत्री बनाउन खोजेको छ। त्यसका लागि गत जेठ ११ गतेदेखि काम सुरू गरेको थियो।
तर डिभिजन सडक कार्यालय काठमाडौंले काम रोक्न जेठ १३ र १६ गते गरी दुइटा पत्र पठायो। डिभिजनले पठाएको पत्रविरूद्ध महानगरले जेठ २७ गते उच्च अदालत पाटनमा रिट दिएको थियो।
रिट निवेदनमा महानगरले आफ्नो क्षेत्रभित्रको वडा नम्बर २२, २३ र २४ अन्तर्गत पर्ने न्यूरोड क्षेत्रमा आर्थिक वर्ष २०८०/८१ को बजेटबाट फुटपाथ विस्तार गर्ने योजना अनुरूपको कार्य सञ्चालन गर्न पाउनुपर्ने अन्तरिम आदेश माग गरेको थियो।
तस्बिरहरू:









सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी