चितवनमा मंगलवार बिहान मृत भेटिएको एक सिंगे गैंडालाई करेन्ट लागेको आशंका गरिएको छ।
पोस्टमर्टमका क्रममा गैंडाको शरीर र वरपरको वस्तुस्थिति हेर्दा विद्युतको झट्का लागेको आशंका गरिएको चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए।
'प्रमाणित नै भइसकेको त छैन तर गैंडाको शरीर र वरपरको वस्तुस्थिति हेर्दा करेन्ट लागेर मरेको हो कि भन्ने देखिन्छ,' उनले भने, 'वास्तविक कुरा विस्तृत अनुसन्धानपछि आउँछ।'
नजिकैको घरमा तारमा छोएर गैंडालाई करेन्ट लागेको हुनसक्ने आशंका छ।
निकुञ्जको टोलीले घटनास्थलमा जिआई तार बाँधिएको किल्ला, घन र नजिकै रहेको घरमा विद्युत तारको पोको बरामद गरेको थियो। आशंकाको आधारमा सोधपुछका लागि दुई जनालाई नियन्त्रणमा लिइएको तिवारीले बताए।
मृत गैंडालाई मंगलबार पोस्टमार्टमपछि खाल्डो खनेर गाडिएको थियो।
भरतपुर महानगरपालिकाको वडा नम्बर २६ भगडीस्थित मकैबारीमा मंगलवार बिहान एक सिंगे गैंडा मृत भेटिएको थियो। निकुञ्जले सुरूमा उक्त पोथी गैंडा बुढो भएर मरेको अनुमान गरेको थियो।
गैंडा मृत भेटिएको ठाउँ निकुञ्जको कालाबञ्जर उपभोक्ता समितिको क्षेत्र नजिक पर्छ।
यो आर्थिक वर्ष २०८१/०८२ को पहिलो मृत गैंडा हो। गत आर्थिक वर्षमा चितवन निकुञ्जमा २१ वटा गैंडा मरेका थिए। तीमध्ये २ वटा सिकारीले मारेका थिए।