भक्तपुरको गठ्ठाघरमा दुर्घटनास्थलबाट फरार भएका ट्रक चालक पक्राउ परेका छन्।
बिहीबार दिउँसो १:४० बजे मध्यपुरठिमी नगरपालिका- ३ गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
ना. ६ ख. २१७३ नम्बरको ट्रकले बा. ४९ प. ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो। दुर्घटनाबाट एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिए।
उनका अनुसार उक्त घटनापछि फरार भएका ट्रक चालकलाई पक्राउ गरिएको छ।
पक्राउ परेका ट्रक चालक सर्लाही मलंगवा नगरपालिका वडा नम्बर २ बस्ने ३२ वर्षीय सतेन्द्र श्रेष्ठ हुन्। ट्रक काठमाडौं उपत्यका प्रहरी सशस्त्र गण नम्बर २ महाराजगन्जमा राखिएको छ। त्यस्तै स्कुटर प्रहरी वृत्त ठिमीमा राखिएको छ।
मृतकको शव पोस्टमर्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको छ। सुरूमा मृतकको पहिचान भएको भनिए पनि पछि गलत सूचना प्राप्त भएको खुलेको हो। मृतकको सनाखत भइसकेको छैन।
दुर्घटनापछि घटनास्थलमा भीड जम्मा भएको थियो। ट्राफिक प्रहरीको चेकिङका कारण दुर्घटना भएको भन्दै भीडले आक्रोशित भएर प्रहरीमाथि ढुंगामुढा र तोडफोड गर्न थालेको थियो। यद्यपि ट्राफिक प्रहरीले दुर्घटनामा परेका दुवै सवारी साधनलाई चेक नगरिएको र नरोकिएको दाबी गरेको छ।
प्रहरीले भीड नियन्त्रणमा लिन २२ राउण्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ।
पढ्नुस्ः