रूकुम पश्चिममा सोमबार दिउँसो भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
तुलसीपुरका ५० वर्षीय नरबहादुर वलीको घटनास्थलमै मृत्यु भएको र उनकी ४४ वर्षीया घाइते श्रीमती लिला वलीको अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेको जिल्लाका निमित्त प्रमुख प्रहरी निरीक्षक ऋषि पाठकले सेतोपाटीलाई बताए।
दुर्घटनामा परी ५० वर्षीया दुर्गा वली र गाडी चालक तुलसीपुर–७ का ४४ वर्षीय लिलामणि भण्डारी समेत गम्भीर घाइते भएका छन्।
घाइते दुवै जनाको जिल्ला अस्पताल चौरजहारीमा उपचार जारी छ ।
उनीहरूको पुर्खेली घर सानीभेरी गाउँपालिका–१० रहेको हुँदा दाङको तुलसीपुरबाट कुलपूजाका लागि त्यहाँ पुगेका थिए।
कुलपूजा सकेर दाङ फर्कने क्रममा उनीहरू सवार जिप सोमबार लु.प्र ०२–००१ च ०१७७ नम्बरको जिप दिउँसो २ बजेतिर दुर्घटनामा परेको थियो।
रूकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अमालटाकुराको सिम्लीदेखि तिमिले जोड्ने भित्री सडकमा ब्रेक फेल भई दुर्घटनामा परेको थियो। जिप झन्डै पाँच सय मिटर तल खसेको थियो। माथिल्लो बाटोबाट दुर्घटनामा परेको जिप तल्लो सडकखण्डमा पुगेको प्रहरीले जानकारी दिएको छ।
तीब्र गतिका कारण जिप दुर्घटनामा परेको आशंका प्रहरीको छ । दुर्घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको पनि प्रहरीले बताएको छ।