प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किरातीले विद्युत प्राधिकरणबाट कुलमान घिसिङको बर्खास्तीपछि बत्ती जान थाल्यो भनेर जनतामा व्यापक असन्तुष्टि रहेको बताएका छन्।
बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद किरातीले पूर्वी नेपालको भ्रमणका क्रममा आफूले पनि बत्ती गइरहेको पाएको बताएका हुन्।
'के यो अघोषित लोडसेडिङ हो कि प्राधिकरणको कमजोर व्यवस्थापनको परिणाम?,' उनले भने।
उनले कुलमान हुँदा नाफामा गएको प्राधिकरण नयाँ एमडीद्वारा प्रस्तुत श्वेत पत्रअनुसार एकाएक संकटग्रस्त देखिनुमा पनि शंका व्यक्त गरे।
'यसबाट हामीले के बुझ्ने? के प्राधकिरणलाई पनि कौडीको भाउमा बेच्ने प्रपञ्चको पूर्वतयारी हो?,' उनले भने, 'आकाशमा चिल आयो आयो भनेर धर्तीमा कुखुरा चोर्ने धूर्त स्यालको कथाले अब जनता झुक्किँदैनन्।'
किरातीले त्यसो हुन गए देशका निम्ति दुर्भाग्य हुने बताउँदै सरकारलाई त्यो बाटोमा नजान सचेत गराए।