इसराइलको आक्रमणबाट गजामा एकैदिन कम्तिमा ११४ जनाको मृत्यु भएको छ।
बिहीबारदेखि गजाका विभिन्न ठाउँमा भएको बमबारीबाट ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको बिबिसीले जनाएको छ।
कतारी मिडिया अल जजिराले त्यो संख्या बढेर १४३ पुगिसकेको दाबी गरेको छ। मृत्यु हुनेहरूमा धेरै महिला र बालबालिकाहरु पनि धेरै संख्यामा रहेको बताइएको छ।
रातभरिमा मात्रै कम्तिमा ६१ जना मारिएको अल जजिराको समाचारमा उल्लेख छ।
मंगलबार इसराइलले गजाको युरोपियन अस्पतालमा ६ वटा बम खसाल्दा २८ जनाको मृत्यु भएको थियो। त्यसयता उक्त अस्पताल बन्द रहेको बताइएको छ।
अल जजिराले बाँकी दुई अस्पतालहरु; जबालियाका अल अला अस्पताल र खान युनिसको इन्डोनेसियन अस्पताल इसराइल आक्रमणका कारण बन्द रहेको गजाको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ।
इसराइलले खान युनिसका ९ वटा घरहरूमा लक्ष्य गरेर पूर्वचेतावनी बिना नै आक्रमण गरेको बताइएको छ। ती घरहरूमा बसिरहेका सबैको मृत्यु भएको गजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
रातको समयमा इसराइलले हवाई हमला गरेपछि सुतिरहेका मानिसहरू घरबाहिर निस्केर भागेका थिए।
इसराइलले हमास नेता मोहम्मद सिन्वरलाई लक्ष्य गरेर आक्रमण गरेको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
मोहम्मद सिन्वर गत अक्टोबरमा मारिएका हमासका नेता याह्या सिन्वरका भाइ हुन्। उनले अस्पतालको जमिनमुनि हमासको कमान्ड र कन्ट्रोल सेन्टर चलाएको दाबी गरेर इसराइलले आक्रमण गरेको स्रोतलाई उद्धृत गर्दै सिएनएनले लेखेको छ।
इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले भने हमास नेतालाई लक्ष्य गरेको नभनी त्यहाँ हमास लडाकूहरूको कमाण्ड सेन्टर रहकाले आक्रमण गरिएको दाबी गरेको छ।
हमासले सोमबार एकजना बन्धक छाडेको थियो। बन्धक छाडे पनि इसराइलले हमासलक्षित कारबाही जारी राख्ने भनेको थियो।
२०२३ को अक्टोबर ७ मा हमासले इसराइलमा आक्रमण गरेर १२ सय जनाको हत्या गरेपछि इसराइलले गजामा हमासलक्षित कारबाही चलाएको थियो। यसबीच दुई पटक युद्धविराम भएपनि त्यसले दीगो रूप लिन सकेन।
गत माघ ५ गते अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा युद्धविरामसँगै दीगो शान्ति स्थापना गरी गजाको पुनर्निमाण समेत गर्ने सहमति जुटेको थियो।
तर पहिलो चरणको युद्धविरामको समय सकिएपछि सहमतिअनुसार दोस्रो चरणको युद्धविराम भाँडिएयता इसराइलले गजामा हमला गर्दै आइरहेको छ। हमासले अहिले पुनः युद्धविरामका लागि मध्यस्थकर्ताहरूलाई आग्रह गरिरहेको बिबिसीले जनाएको छ।
अक्टोबरमा हमासले बन्धक बनाएर गजा पुर्याएको नेपालका विपिन जोशीसहित ५८ जना बन्धकहरु अझै हमासकै कब्जामा रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।