चितवनको दिव्यनगरमा एक व्यक्तिले आफ्नै छोरी र भतिजालाई खुर्पा प्रहार गरेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रविन्द्र खनालकाअनुसार भरतपुर महानगरपालिका–२५ का ४५ वर्षीय लिलाराज गिरीले ५ वर्षीय भतिजा सजन र ७ वर्षीया छोरी प्रभा गिरीको घाँटीमा खुर्पा प्रहार गरेपछि आफ्नै घाँटी रेटेका थिए।
खुर्पा प्रहारपछि ५ वर्षीय सजनको मृत्यु भएको डिएसपी खनालले जानकारी दिए। सजन लिलाराजका दाइको छोरा हुन्।
तीनै जनालाई चितवन मेडिकल कलेजमा पुर्याइएकामा सजनको उपचारका क्रममा मृत्यु भएको हो।
लिलाराज र उनको छोरीको अवस्था गम्भीर रहेको डिएसपी खनालले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानका क्रममा लिलाराज भुतपूर्व सेना रहेको खुलेको छ। त्यस्तै उनको मानसिक सन्तुलन ठीक नभएको पाइएको पनि प्रहरीले जनाएको छ।
यसबारेमा थप अनुसन्धान भइरहेको डिएसपी खनालले जानकारी दिए।