मोरङको रतुवामाइ नगरपालिका-६ का २३ वर्षीय रमेश मेहताका लागि शनिबार साँझ अकल्पनीय दु:ख लिएर आयो।
उनले चलाएको मोटरसाइकलबाट लडेर आमाको मृत्यु भएपछि उनले आमालाई त गुमाए नै, अब उनी आफै कानुनी झमेलामासमेत पर्ने भएका छन।
मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले दिएको जानकारीअनुसार रमेश मोटरसाइकलमा आमालाई पछाडि राखेर हिडिरहेका थिए।
साँझ पौने ७ बजेतिर दौडेर बाटोमा आएको कुकुरलाई जोगाउन खोज्दा मोटरसाइकल अनियन्त्रित भएर उनकी ४५ वर्षीया आमा भवानी मेहता लडिन्।
'बाइकबाट आमा लडेपछि टाउकोमा गम्भीर चोट लागेको थियो, उपचारका क्रममा आमाको मृत्यु भयो,' उनले भने।
प्र १ प ९०६० नम्बरको मोटरसाइकलमा आमालाई लिएर गन्तव्यतर्फ गइरहेका रमेशले कुकुर जोगाउन खोज्दा मोटरसाइकल अनियन्त्रित भइ ढलेको बताएका छन।
उपचारको क्रममा राति ८:१५ बजे भवानीको मृत्यु भएको थियो।
आमाको मृत्युसँगै परिवारमा आइपरेको शोक शोकमै सीमित नभइ रमेशको जीवनमा कानुनी झमेलासमेत थपिएको छ।
मोटरसाइकल चालक रहेका रमेशमाथि ‘सवारी ज्यान’ मुद्दा दर्ता हुने भएको हो।
डिएसपी जोशीका अनुसार रमेशमाथि सवारी ज्यान मुद्दा लाग्नेछ।
'संस्कारहरू पूरा गर्न हामी समन्वय गर्छौं, तर आमा गुमाएका छोरा माथी नै सवारी ज्यान मुद्दा लाग्ने भयो,' उनले भने, 'तर, हामी व्य्वाहारिक रुपमा सहयोग चाहिँ गर्नेछौं।'