रामेछापमा मध्यराति वृद्धवृद्धा बस्ने घरमा लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
सुनापती गाउँपालिका-२ दिमीपोखरी सुरसुम्बा टोल बस्ने ७० वर्षीय सानोकान्छा तामाङ र उनकी ६५ वर्षीया सानुकान्छी तामाङ बस्ने घरमा लुटपाट भएको हो।
उनीहरूको घरमा लुटपाट गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३८ वर्षीय पेम्बा भन्ने प्रेमबहादुर लामालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी भोला भट्टले जानकारी दिए।
उनका अनुसार पेम्बा वैशाख २९ गते पौने १२ बजेतिर ती वृद्धवृद्धाको घरमा पुगेका थिए।
घर प्रवेश गर्नुअघि उनले बत्तीको मेन स्वीच निभाएर गएका थिए।
कोठामा सुतिरहेका तामाङ दम्पत्तीलाई उनले कुटपिट समेत गरेको डिएसपी भट्टले बताए।
कुटपिट गरी घाइते बनाएपछि सानुकान्छीले लगाएको अन्दाजी ७५ लालको सुनको बेरूवा रिङ दुई वटा लगेका थिए।
यसरी लुटपाट भएको भन्ने सूचनापछि प्रहरीले अनुसन्धान थालेको थियो। अनुसन्धान गरी प्रहरी पेम्बाको घरमा पुगेको हो।
पेम्बाले उक्त सुनलाई घरमा खैनीको प्याकेटभित्र लुकाएर राखेको फेला परेको डिएसपी भट्टले बताए।
प्रहरीले उनीमाथि अनुसन्धान गर्न आइतबार जिल्ला अदालत रामेछापबाट डाँका चोरी कसुरमा म्याद थपेर अनुसन्धान अघि बढाएको छ।