गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु भएको छ।
दाङको गढवा गाउँपालिका–३ गोबडियाका २७ वर्षीय निशान चौधरीको मोटरसाइकल दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी नारायणप्रसाद अधिकारीले सेतोपाटीलाई बताए। मृतक चौधरी सब–इञ्जिनियर हुन्। चौधरी गुल्मीको इन्द्र एमके जेबी निर्माण सेवामा कार्यरत थिए।
गएराति साढे १० बजेतिर उनी सवार लु ९७ प ७४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक किनारको नालीमा पसेको थियो।
सोमबार बिहान सवा ७ बजेतिर खबर पाएर पुगेको प्रहरीले चौधरीलाई घटनास्थलमै मृत्यु भएको अवस्थामा फेला पारेको थियो।
जिल्लाको सिमाघाट तम्घासतर्फ जाँदै गरेका चौधरी सवार मोटरसाइकल रेसुङ्गा नगरपालिका–५ लप्सीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।
दुर्घटनास्थल गुल्मी सदरमुकाम तम्घासदेखि पश्चिम करिब १० किलोमिटर टाढाको दूरीमा पर्छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। दाङ घर भएका मृतकका परिवारलाई प्रहरीले खबर गरिसकेको छ।