सर्वोच्च अदालतको अनधिकृत पत्र लेख्ने शाखा अधिकृत महिमानसिंह विष्टसँग एक लाख रुपैयाँ धरौटी माग गरेको छ।
सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले शाखा अधिकृत विष्टसँग एक लाख रुपैयाँ धरौटी माग गरेको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।
विष्टले धरौटी बुझाएर छुटिसकेको सूचना अधिकारी श्रेष्ठले बताए।
जिल्ला प्रहरी परिसर काठमाडौंले उनीमाथि लिखतसम्बन्धी कसुरमा अनुसन्धान गरी सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो।
सरकारी वकिलले सोमबार बिहान उनीविरूद्ध मुद्दा दर्ता गरेसँगै सुनुवाइ गर्दै न्यायाधीश बरालको इजलासले धरौटी माग गरेको हो।
विष्ट सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखामा शाखा अधिकृतको रूपमा कार्यरत थिए।
उनले आफूलाई टीकापुरको घटनाले पीडा भएको भन्दै सर्वोच्च अदालतको लेटर प्याडको दुरूपयोग गरी वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई फैसला कार्यान्वयन भन्दै प्रहरीलाई पत्र दिन प्रहरी प्रधान कार्यालय नक्साल पुगेका थिए।
त्यही दिन नाउपाका संरक्षक चौधरी प्रज्ञा प्रतिष्ठान भवनमा पार्टी एकीकरणका लागि पुग्दा प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले त्यही बेला चौधरीलाई डिल्लीबजार कारागारमा चलान गरेको थियो।
यसरी एकाएक उनलाई पक्राउ गरी कारागार चलान गरेपछि सर्वोच्चकै पत्रमा शंका उब्जिएको थियो। पछि सर्वोच्चले उक्त पत्र नै अनधिकृत रहेको भन्दै चौधरीलाई रिहा गर्न कारागार कार्यालयमा पत्राचार गरेको थियो।
यता विष्टमाथि अनुसन्धान गर्न प्रहरीलाई पनि पत्राचार गरेको थियो।