यसपालिको मनसुन याममा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले बुधबार यस वर्षको मनसुन यामको ऋतुगत आकलन सार्वजनिक गर्दै सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको हो।
जेठ १८ गतेदेखि असोज १४ गतेसम्मको अवधिलाई मनसुन यामम भन्ने गरिन्छ।
यद्यपि नेपालमा मनसुन सामान्यतया जुन १३ अर्थात् जेठ ३० गते भित्रने अनुमान गरिन्छ। मनसुन सुरूआती विन्दुमा विकास भइ बंगालको खाडी दक्षिण भित्रिसकेको र श्रीलंकाको मध्यक्षेत्रसम्म आइपुगिसकेकाले नेपालमा सरदरभन्दा छिटो भित्रने अनुमान गरिएको छ।
यसपटक मनसुन याममा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिएको विभागकी प्रवक्ता विभूति पोखरेलले बताइन्।
‘आउँदो मनसुन याममा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ। यसको अर्थ मनसुनभरि नै बढी वर्षा हुन्छ भन्ने होइन,’ उनले भनिन्, ‘कुनै महिना लगातार वर्षा हुने र कुनै महिना वर्षा तुलनात्मक कम हुने अवस्था पनि हुन्छ।’
गत वर्ष असोज १० गतेदेखि १३ गतेसम्म रेकर्ड ब्रेक वर्षा भयो। त्यो तीन दिनको अवधिमा वर्षाको नयाँ रेकर्ड कायम भयो भएको थियो। त्यतिबेला मनसुन यामकै ९ प्रतिशत वर्षा भएको उनको भनाइ छ।
गत वर्षको असार २३ र २४ गते कञ्चनपुरका २४ घन्टामा ६२४ मिलिमिटर वर्षा भएको थियो।
‘जुन महिनामा सरदरभन्दा बढी वर्षा हुने देखिएता पनि जुलाइ (मध्यअसार) र अगष्ट (मध्यसाउन) मा अपेक्षित वर्षा नहुन पनि सक्छ। जलवायु परिवर्तनका कारण विषम मौसमी घटना हुने सम्भावना रहन्छ। हामी आगामी आकलनमा वर्षा र तापक्रमको अवस्थाबारे नियमित अपडेट गराउँछौं,’ उनले भनिन्।
विभागका अनुसार यस मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ।
विभागले कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनी प्रदेशको उत्तरी भू–भाग र गण्डकी प्रदेशको अधिकांश भू–भागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ५५ प्रतिशत देखि ६५ प्रतिशत रहेको छ।
विभागले कर्णाली प्रदेशअन्तर्गत हुम्लाको पूर्वी भेग, मुगु र जुम्लाको दुई तिहाइ भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना अधिक देखाएको छ।
जाजरकोट र रूकुमपश्चिम उत्तरपूर्वको भागमा बढी वर्षा हुनेछ। डोल्पाको पूरै भागमा सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिएको छ।
लुम्बिनी प्रदेशअन्तर्गत रोल्पा, रूकुम पूर्व, गुल्मीका पूरै भागका सरदरभन्दा अधिक वर्षाको आकलन गरिएको छ।
प्यूठान, अर्घाखाँचीका अधिकांश भाग, रूपन्देही, नवलपरासीका केही भूभागमा सरदरभन्दा बढी वर्षाको पूर्वानुमान गरिएको छ।
गण्डकी प्रदेशका अधिकांश जिल्लामा सरदरभन्दा बढी वर्षा हुनेछ। मुस्ताङ, मनाङ, म्याग्दी, कास्की तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी जिल्लाको पूरै भागमा सरदरभन्दा बढी वर्षा हुनेछ।
नवलपुर र लमजुङका दुई तिहाई र उत्तरी तथा दक्षिणी गोरखाका केही स्थानमा सरदरभन्दा अधिक वर्षा हुने आकलन गरिएको छ।
यस्तै सुदूरपश्चिम प्रदेशको दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशको पश्चिमी भू–भाग, गण्डकी प्रदेशको उत्तर–पूर्वी भू–भाग, बागमती र कोशी प्रदेशको उत्तरी भू–भागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशत देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ।
मधेस प्रदेशका पूर्वी तथा दक्षिणी भू–भागमा सरदर वर्षा हुने सम्भावना ३५ प्रतिशत देखि ४५ प्रतिशतसम्म रहेको छ भने देशका बाँकी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म रहेको विभागले जनाएको छ।
मधेस प्रदेशका आधाजस्तो र कोशी प्रदेशको सुनसरीको केही भागमा सरदर वर्षा हुने विभागको अनुमान छ।
यस्तो रहनेछ अधिकतम तापक्रम
आगामी मनसुन सिजनमा अधिकतम तापक्रम देशभर सरदरभन्दा बढी हुने आकलन गरिएको छ।
सुदूरपश्चिम प्रदेशको उत्तर–पूर्वी भू–भाग, कर्णाली प्रदेशको उत्तरी भू–भाग, लुम्बिनी प्रदेशको उत्तरी भू–भाग, गण्डकी प्रदेशको पश्चिमी भू–भाग, मधेश प्रदेशको पश्चिमी भू–भाग र बागमती प्रदेशको मध्य भू–भागमा सरदर भन्दा बढी अधिकतम तापक्रम रहने सम्भावना ५५ प्रतिशत देखि ६५ प्रतिशत रहेको छ।
त्यसैगरी मधेस प्रदेशको पूर्वी भू–भाग र गण्डकी प्रदेशको मध्य भू–भागमा सरदर भन्दा बढी रहने सम्भावना ३५ प्रतिशत देखि ४५ प्रतिशतसम्म रहेको विभागले बताएको छ। देशका बाँकी भू–भागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म रहेको छ।
विभागले पछिल्ला वर्षादेखि (सन् २०२३ र २०२४ मा) अधिकतम तापक्रम लगातार बढिरहेको बताएको छ।

न्यूनतम तापक्रमको अवस्था कस्तो छ?
जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन सिजनको न्यूनतम तापक्रम देशभर सरदर भन्दा बढी हुने प्रक्षेपण गरेको छ।
कर्णाली र बागमती प्रदेशका अधिकांश भू–भाग, लुम्बिनी प्रदेशको मध्य भू–भाग, मधेस प्रदेशका पश्चिमी भू–भाग र कोशी प्रदेशको तराई भू–भागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना प्रतिशतदेखि देखि ६५ प्रतिशतसम्म रहेको बताएको छ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशको दक्षिण–पश्चिमी भू–भाग, गण्डकी प्रदेशको उत्तर–पूर्वी भू–भाग र कोशी प्रदेशको उत्तरी भू–भागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म रहेको बताएको छ।
देशका बाँकी भू–भागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म रहेको बताएको छ।
विभागले सन् २०२० देखि नै न्यूनतम तापक्रम पनि लगातार बढिरहेको बताएको छ।

विभागले गत वर्षको तापक्रम र वर्षाको प्रक्षेपण पनि मिलेको बताएको छ।
गत वर्षको मनसुन ऋतुमा देशका अधिकांश स्थानहरूमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म रहेको अनुमान गरिएको थियो।
गत वर्षको मनसुन याम (जेठ १९ देखि असोज १४ गतेसम्मको अवधिमा) १७०६.२ मिलिमिटर वर्षा भएको थियो। यो भनेको सरदरको ११५.३ प्रतिशत हो। नेपालमा मनसुन याममा सरदर १४७२.० मिलिमिटर वर्षा हुने अनुमान गरिन्छ।
गत वर्षलाई नेपालमा वर्षा मापन गर्न थालिएयताकै दोस्रो बढी पानी परेको वर्षका रूपमा लिइएको पनि विभागले जनाएको छ।