आलु स्वास्थ्यका लागि फाइदाजनक हुँदैन भनेर लामो समयदेखि बदनाम छ।
आलुमा धेरै कार्बोहाइड्रेट भएकाले यसले तौल बढाउने र मधुमेह अनि मुटु रोगको जोखिम बढाउने भनेर यसलाई खानै नहुने वस्तु जस्तो मानिन्छ।
तर पछिल्ला वर्षहरूमा आलु आफैले हानि नगरेर आलु चिप्स वा फ्राइज बनाउँदा धेरै तेल र नुन प्रयोग हुनाले नोक्सान हुने कुरा स्थापित भएको छ। स्वस्थ तरिकाले पकाएको आलुले हानि नगर्ने मात्रै नभएर धेरै फाइदा गर्छ।
आलुमा भएको कार्बोहाइड्रेटको मात्रै चर्चा हुन्छ। तर आलु अरू धेरै पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले रोग प्रतिरोधात्मक क्षमता बढाउनेदेखि लिएर अरू धेरै फाइदा गर्छ।
आलुमा धेरै कार्बोहाइड्रेट भए पनि यसमा 'कम्प्लेक्स' कार्बोहाइड्रेट हुन्छ। यसलाई शरीरले साधारण कार्बोहाइड्रेटको तुलनामा टुक्र्याउन र पचाउन बढी समय लगाउँछ। त्यसैले यसले ऊर्जाको स्थिर स्रोत प्रदान गर्ने मात्रै नभएर लामो समयसम्म पेट भरिएको महसुस गराउँछ।
अझ रातो आलुमा सेतो आलुको तुलनामा ग्लाइसेमिक इन्डेक्स (जिआई) थोरै हुने भएकाले रगतमा चिनीको मात्रालाई तुरून्तै बढाउँदैन। त्यसैले रातो आलुले मधुमेह र मुटु रोगको जोखिम पनि धेरै बढाउँदैन।
आलुले स्वस्थ प्रतिरोधात्मक प्रणाली बनाउन पनि सहयोग गर्छ। आलु भिटामिन सीको अचम्मलाग्दो राम्रो स्रोत हो। भिटामिन सी तन्तुहरूको वृद्धि र मर्मतका लागि अत्यावश्यक छ।
यसले एन्टिअक्सिडेन्टको रूपमा पनि काम गर्छ। एन्टिअक्सिडेन्टले प्रतिरोधात्मक प्रणालीलाई बलियो राख्छ। साथै मुटु रोग तथा क्यान्सरजस्ता दीर्घ रोगहरूबाट बचाउन मद्दत पनि गर्छ।
त्यस्तै आलुमा फेनोलिक्सको मात्रा पनि धेरै हुन्छ। फेनोलिक्स एक प्रकारको पोलिफेनोल हो, जसले लामो समयसम्म तन्तुहरू सुन्निनबाट रोक्छ। यसले रोग प्रतिरोधात्मक प्रणालीलाई चुस्त राख्न र कोषहरूलाई क्षति हुनबाट जोगाउँछ।
साथै आलुमा थोरै मात्रामा भिटामिन बी–६ पनि हुन्छ। मुटु, रोग प्रतिरोधात्मक प्रणाली र मानसिक स्वास्थ्य चुस्त राख्न भिटामिन बी ६ आवश्यक छ।
त्यस्तै आलु पोटासियमको पनि राम्रो स्रोत हो। पोटासियम एक इलेक्ट्रोलाइट हो। स्नायु र मांसपेशीका कोषहरूलाई काम गर्न पोटासियम आवश्यक हुन्छ। यसले रक्तचाप नियन्त्रणमा राख्न पनि मद्दत गर्छ।
तर थोरै मानिसहरूले मात्र आफ्नो आहारमा पर्याप्त पोटासियम पाउँछन्। उच्च पोटासियम हुने खानेकुरा भनिर चिनिने केरामा भन्दा आलुमा धेरै पोटासियम हुन्छ।
आलुको बोक्राले पनि फाइदा गर्छ। आलुमा हुने फेनोलिक्सको मात्रा यसको बोक्रामा धेरै हुन्छ। बोक्रा सहितको आलुमा पाचन प्रक्रियाका लागि चाहिने फाइबर पनि हुन्छ।
बैजनी र रातो आलु अरू आलुभन्दा अझ फाइदाजनक हुन्छ। बैजनी र रातो आलु एन्थोसायनिन भनिने रंगले भरिएको हुन्छ। बोक्रा र भित्री भागको रङ जति गाढा भयो, त्यति नै बढी पौष्टिक हुन्छ। एन्थोसायनिनले मुटु र रक्तनलीको स्वास्थ्यमा फाइदा पुर्याउने, र मस्तिष्कले गर्ने काममा आउने समस्यालाई टाढा राख्न मद्दत गर्छ।
यसरी आलुमा स्वास्थ्यलाई फाइदा हुने यति धेरै पौष्टिक तत्व हुन्छन्। आलुका चिप्स र फ्राइज बनाउँदा भने प्रायः जसो सबै पौष्टिक तत्वहरू नष्ट हुन्छन्।
चिप्स र फ्राइजमा धेरै मात्रामा हुने तेल र नुनले पनि हानि गर्छ। उसिनेर, पोलेर वा थोरै तेलमा पकाएर खाएमा भने आलुमा रहेका पौष्टिक तत्वहरूको लाभ पाइन्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)