पौडी खेल्ने क्रममा तिनाउ नदिमा डुबेर बेपत्ता भएका भारतीय युवाको शव फेला परेको छ।
पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित तिनाउ नदीको ड्याम साइडमा पौडी खेल्ने क्रममा भारतको महाराजगन्ज नौतनवा निवासी १८ वर्षीय सोएब अन्सारी बेपत्ता भएका थिए।
चार जना साथीसहित बुटवल घुम्न आएका अन्सारी पौडी खेल्ने क्रममा विद्युत् पावर हाउसको लागि बनाएको ड्याम साइडको रहमा डुबेपछि प्रहरीले बिहीबारदेखि खोजी सुरू गरेको थियो।
बिहीबार र शुक्रबार दिनभर खोजी गरेपछि शुक्रबार उनको शव सोही रहबाट निकालिएको प्रहरीले जनाएको छ।
प्रहरी चौकी दोभानका प्रमुख रोम केसीका अनुसार नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बल र नेपाली सेनाको तालिम प्राप्त टोलीले ड्याम साइडको रहमा डुबेका अन्सारीको शव फेला पारेको हो।