भारतको गुजरातमा बोइङ जहाज बजारिएको घरमा बसेका एक व्यक्तिले झ्यालबाट हामफालेर आफ्नो ज्यान जोगाएका छन्।
बिबिसीका अनुसार जहाज बजारिएको सो घर एक अस्पतालको भवन थियो जहाँ चिकित्सकहरू बस्थे। तिनै डाक्टरहरूमध्ये एक जना खाना खान सो घरमा गएका थिए। त्यही बेला जहाज दुर्घटना भएको थियो।
ती व्यक्ति भवनको दोस्रोमा तलामा थिए। जहाज बजारिएको थाहा पाएपछि उनी दोस्रो तलाबाटै हामफालेका थिए। गम्भीर घाइते भए पनि उनको स्वास्थ्य ठिकठाक रहेको उनकी आमा रमिलालाई बताएकी छन्।
जहाजमा कुल २४२ जना थिए। हालसम्म मृतक र घाइतेहरूको यकिन तथ्यांक आइसकेको छैन। तर कम्तीमा ५० जनाको मृत्यु भएको बताइएको छ।
बोइङ जहाजले उड्नेबित्तिकै दिएको थियो आपतकालीन सूचना
भारतको गुजरातमा बिहीबार दिउँसो जहाज दुर्घटना हुँदा स्थानीय मौसम एकदमै सफा थियो। त्यतिखेर हावाको गति मन्द थियो भने भिजिबिलिटी ६ किलोमिटरसम्म थियो।
भारतीय नागरिक उड्डयन कार्यालयको मौसम पूर्वानुमान शाखाका अनुसार त्यो समय आकाशमा कालो बादलधरि लागेको थिएन। र, ठूलो हावाहुरीको पनि कुनै सम्भावना थिएन।
यसका बाबजुद विमानस्थलको धावनमार्ग छाडेको ५ मिनेटमै बोइङ–७८७–८ ड्रिमलाइनर जहाज किन आकाशमा अडिइरहन सकेन र त्यो जमिनतिर हुर्रियो भन्नेमा धेरैको चासो छ।
उक्त जहाज आकाशबाट तल झर्न थालेपछि धेरैले उत्सुकतावस् भिडिओ खिच्न थालेका थिए। त्यही भिडिओका आधारमा सो जहाज पाँच मिनेटमै आकाशबाट तल खसेर एउटा घरमाथि बजारिएको देखिन्छ। त्यो घर एक अस्पतालको भवन थियो जहाँ आवासीय चिकित्सकहरू बस्थे।
बिबिसीका अनुसार यो जहाजले उड्नेबित्तिकै एयरट्राफिक कन्ट्रोलमा सम्पर्क गरेर आपतकालीन सूचना (मे–डे कल) दिएको थियो। लगत्तै जहाजको सम्पर्क विच्छेद भयो। एयरट्राफिक कन्ट्रोलले सोध्दा पनि जबाफ फर्काएन।
बिबिसीले फ्लाइट राडारलाई उद्धृत गर्दै लेखेको छ, 'जहाज धावनमार्ग छाडेर जमिनको सतहभन्दा ६२५ फिट माथि हुँदा सम्पर्क विच्छेद भएको थियो।'
त्यसपछि त्यो जहाज एकैपटक घरमा बजारियो। यो जहाजमा कुल २४२ जना थिए। तीमध्ये चालक दलका सदस्य १२ जना थिए। यात्रुहरूमा १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानडियन र ७ जना पोर्चुगिज नागरिक थिए।
अस्वाभाविक रूपमा भएको यो दुर्घटनाबारे बोइङ कम्पनीले आफ्नो भनाइ राखिसकेको छ।
'प्रारम्भिक रिपोर्टहरूबारे हामी जानकार छौं र थप सूचना संकलन गर्दैछौं,' बोइङले भनेको छ।
बिबिसी संवाददाताका अनुसार बोइङ–७८७–८ ड्रिमलाइनर जहाज यस किसिमले दुर्घटना भएको पहिलो पटक हो। बोइङको यो मोडलको जहाज १४ वर्षअघि बजारमा सार्वजनिक भएको थियो। र, ६ साताअघि मात्र बोइङका ड्रिमलाइनर जहाजहरूले एक अर्ब यात्रु ओसारेको भन्दै उत्सव मनाएको थियो।
पछिल्लो समय दुर्घटनाहरू धेरै खेपेको बोइङका लागि यो दुर्घटना एकदमै ठूलो झट्का हो। यसअघि बोइङका म्याक्स मोडलका दुई जहाज दुर्घटना परेका थिए।