कम्तिमा दुई सय जनाको ज्यान जाने गरी भएको एयर इन्डियाको जहाज दुर्घटनामा एक जना यात्रु जीवित बाँचेको भारतीय समाचार एजेन्सीहरूलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ।
भारतको गुजरातस्थित अहमदाबादबाट लन्डन उडेको उक्त जहाजमा चालक दलसहित २४२ जना सवार थिए। तीमध्ये कम्तिमा २०० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ।
अहमदाबाद प्रहरी आयुक्त जिएस मलिकले भारतीय समाचार संस्था एएनआईलाई भनेअनुसार बोइङ ७८७–८ विमानको ११ए सिटमा बसेका यात्रुको भने जीवित उद्धार गरिएको थियो।
भारत सरकारले सार्वजनिक गरेको यात्रु सूचीअनुसार ११ए सिटमा बसेका यात्रु बेलायती नागरिक विश्वासकुमार रमेश थिए।
भारतीय सञ्चारमाध्यमहरूले अस्पतालमा रहेका ४० वर्षीय रमेशसँग कुरा गरेको बिबिसीले उल्लेख गरेको छ। रमेशले भनेका छन्, 'जहाज उडेको ३० सेकेन्डपछि ठूलो आवाज आयो र त्यसपछि भुइँमा खस्यो। सबै कुरा एकै छिनमा भयो।'
उनले भारतीय सञ्चारमाध्यमहरूलाई आफ्नो नाम र सिट नम्बर देखिने बोर्डिङ पास पनि देखाएको बिबिसीले लेखेको छ।
आयुक्त मलिकले एएनआईलाई भने, 'उनी अहिले अस्पतालमा उपचारमा छन्। उनको छाती, आँखा र खुट्टामा गहिरो चोट लागेको छ।'

हिन्दुस्तान टाइम्सले लेखेअनुसार उनी आफ्नो परिवारलाई भेट्न अहमदाबाद आएका थिए। उनीसँगै ४५ वर्षीय दाइ अजयकुमार रमेश पनि त्यही जहाजमा सवार थिए। उनी जहाजको अर्को लहरमा रहेको विश्वासले बताएका छन्।
'मेरो होस खुल्दा वरिपरि मान्छेका क्षतविक्षत अंग र जहाजका टुक्राहरू थिए। मलाई तिनै अवशेषबाट उद्धार टोलीले फेला पारेको थियो,' उनले हिन्दुस्तान टाइम्सलाई भनेका छन्।
उनले आफू २० वर्षदेखि लन्डनमा बस्दै आएको र श्रीमती र छोराछोरी उतै भएको पनि बताएका छन्।
एयर इन्डियाका अनुसार लन्डनको ग्याटविक विमानस्थल जाँदै गरेको जहाजमा १६९ जना भारतीय नागरिक, ५३ जना बेलायती, ७ जना पोर्चुगिज र १ जना क्यानाडेली नागरिक सवार थिए।
जहाज उड्नेबित्तिकै डाक्टरहरूको आवासीय भवनमा खसेको थियो।
बेलायतका राजा र रानीले पनि यो घटनामा दु:ख व्यक्त गर्दै विज्ञप्तिमा जारी गरेका छन्। उनीहरूले भनेका छन्, 'आज बिहान अहमदाबादमा भएको डरलाग्दो घटनाबाट हामी अत्यन्तै स्तब्ध भएका छौं।'
'धेरै देशका नागरिक प्रभावित भएको यो दर्दनाक घटनामा परेका सबैका परिवार र आफन्तप्रति हाम्रो विशेष प्रार्थना र गहिरो समवेदना छ,' विज्ञप्तिमा भनिएको छ।
यसबीच बेलायती विदेश सचिव डेभिड लेमीले भारत र बेलायतमा आपतकालीन टोली खटाएको बताएका छन्।
उनले संसदमा भने, 'उक्त जहाजमा बेलायती नागरिकहरू पनि सवार थिए। हामीले भारतका स्थानीय निकायहरूसँग मिलेर बेलायती नागरिक र तिनका परिवारलाई सहयोग गर्न तत्काल कदम चालेका छौं। दिल्ली तथा लन्डनमा आपतकालीन टोली सक्रिय गरिएको छ।'